गाई-गाेरु मार्नेलाई कारबाही हुने कानुन संविधानकाे मर्मविपरीत भएकाे भन्दै संशोधनकाे माग

 चैत ८, २०७५ शुक्रबार १७:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाका सांसदहरुले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’का केही दफा संविधानको मर्म र भावनाविपरीत हुनेगरी आएको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र महेश्वरजंग गहतराजले त्यस विधेयकमा ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद गर्ने र अन्य चोट पुर्‍याएमा ५० हजारसम्म जरिबाना हुनेछ’ भन्ने प्रावधान संविधानविपरीत आएको उल्लेख गर्दैै तत्काल हटाउन माग गर्नु भएको हो ।

शुक्रबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा त्यस विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यसमेत रहनु भएका सांसद तामाङले धार्मिक तथा जातीय समुदायमाथि गम्भीर आघात पार्ने खालको प्रावधान त्यस विधेयकमा उल्लेख गरिएको भन्दै आपत्ति पनि जनाउनुभयो । उहाँले त्यो प्रावधान हटाउन पनि सरकारसँग माग गर्नु भयो ।

समितिका अर्का सदस्य गहतराजले संविधानको मर्म र भावनाविपरीत ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद गर्ने’ त्यस विधेयकमा राखिएको प्रावधान संविधानको भावनाविपरीत भएकाले तत्काल हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

समितिका अर्का सदस्य प्रेम सुवालले जबरजस्ती करणी गर्नेमाथि कडा कारबाही हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले सम्पत्ति नभएका व्यक्तिले जबरजस्ती करणी गरेमा उनीबाटै क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

विधेयकमा सम्पत्ति नभएका व्यक्तिलाई जबरजस्ती करणीको अभियोग लागेमा त्यस व्यक्तिको क्षतिपूर्ति पीडित पक्षलाई राज्यले उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यसो गरिए दोषीले उन्मुक्ति पाउने सुवालको भनाइ छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय निरुपणमा समस्या देखिएको भन्दै त्यो विधेयकलाई छिट्टै पारित गरिदिन संघीय संसदका सांसदहरुलाई आग्रह गर्नु भएको थियो ।

सरकारले मुलुकी संहितामा देखिएका त्रुटिहरु सच्याउने उद्देश्यका साथ त्यो विधेयक संशोधनका लागि संघीय संसदमा पेश गरेको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया