पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको भत्ता उपलब्ध गराइने

 चैत ८, २०७५ शुक्रबार १९:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको गएकाे साउन महिनादेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

शुक्रबार सिंंहदरबारस्थित प्राधिकरणको कार्यालयमा सरोकारवाला निकायसँगको भेटमा उहाँले गएकाे साउन महिनादेखिकै पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको प्रोत्साहन भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति लिइएको पनि स्पष्ट पार्नु भयो ।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका थिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले इन्जिनियरहरुको सेवा सुविधामा कुनै कमी हुन नदिने उल्लेख गर्दैै आन्दोलन छोडेर पुनर्निर्माणको काममा केन्द्रित हुन पनि आह्वान गर्नुभयो ।

प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको थप सेवा र सुविधा सम्बन्धित स्थानीय तहले सिफारिस गरेको आधारमा उपलब्ध गराउने पनि जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बन्धित स्थानीय तहले गरेको सिफारिसको आधारमा इन्जिनियरहरुको थप सेवा, सुविधा उपलब्ध गराउने पनि स्पष्ट पार्नु भयो ।

प्राधिकरणले निजी आवास निर्माणको काम मानवीय संवेदनासँग जोडिएकाले याे काममा ढिलाइ नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया