नेप्से कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ता प्रहरी नियन्त्रणमा

 चैत १२, २०७५ मंगलबार १२:५६:२३ | उज्यालो सहकर्मी

काठमाण्डाै – राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शेयर लगानीकर्ता दबाब समूह मंगलबार बिहान कार्यालय समयमा नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्वार बाहिर नै धर्ना बस्न खोजेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन समेत भएको थियो ।  

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै शेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए । अहिले १३ जना शेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । प्रहरी नियन्त्रणमा रहेका शेयर लगानीकर्ता दबाब समूहका दीपेन्द्र अग्रवालले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गर्नुभयो । 

शेयर लगानीकर्ताहरुले  पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया