ब्राजिलको मौका खोस्ने सर्वियाको रणनीति

 असार १३, २०७५ बुधबार १२:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत आज ब्राजिल र सर्वियाबीच खेल हुँदैछ । समूहमा ब्राजिल ४ अंक सहित शीर्ष स्थानमा छ भने सर्विया तीन अंक सहित तेस्रो स्थानमा छ । मस्कोको स्पार्टक एरेनामा हुने खेल राति पौने १२ बजे हुनेछ ।
 
नकआउट चरणमा पुग्नका लागि जति दबाब सर्वियालाई छ, उत्तिकै दबाब ब्राजिललाई पनि छ ।
किनभने सर्वियासँग पराजित भएमा र स्वीट्जरल्याण्डले कोस्टारिकासँग कम्तीमा बराबरी खेलेमा ब्राजिलको नकआउट चरणको यात्रा सकिनेछ । ब्राजिललाई रोक्नका लागि अलेक्सेन्दर मित्रोभिच र टिम तयार छन् ।
 
ब्राजिलबाट उसका समर्थकले ठूलो अपेक्षा गरेका छन् । त्यसैले पनि उसमा दबाब बढी छ । दबाबमा रहेको ब्राजिलविरुद्ध मौका खोस्ने तयारीमा सर्वियाको रणनीति हुनेछ । ‘पहिलो खेलको नतिजाले ब्राजिलमा दबाब छ, जुन स्थितिको सामना उसले सायदै गरेको छ । हाम्रा लागि गुमाउने केही छैन ।’ स्वीट्जरल्याण्डविरुद्ध गोल गरेका फरवार्ड अलेक्सान्दर मित्रोभिचले भने ।

‘खेल नसकिएसम्म हाम्रो अगाडी बढ्ने मौका सकिँदैन । तर हामीले आफ्नो शतप्रतिसत प्रदर्शन गर्न सक्नुपर्नेछ ।’ मित्रोभिचले भनेका छन् ‘प्रतियोगिताको दाबेदार टिमको यात्रा सहज हुँदैन । अर्जेन्टिना क्रोएसियासँग पराजित भएको उदाहरण लिन सक्छौं ।’
 
छैटौं उपाधि जित्ने लक्ष्यमा रहेको ब्राजिल टिममा सर्वियाविरुद्ध उत्रँदा डानिलो उपलब्ध हुने छैनन् ।
 
डानिलो कम्मरको समस्याका कारण अराममा छन् । यस्तै डग्लस कोस्टा पनि ह्यामस्ट्रिङ इन्ज्युरीको मारमा परेका छन् । तर फिलिपे काउटिन्हो, नेयमार जस्ता अग्रतपंक्तिका खेलाडीले ब्राजिलको उद्धार गर्न सक्नेछन् । यद्यपी प्रिक्वार्टर फाइनलमा पुग्नका लागि ब्राजिलले बराबरी गरे पनि पर्याप्त हुनेछ ।
 

म्याच फ्याक्ट्स

–स्वतन्त्र राष्ट्रका रुपमा सर्वियाले ब्राजिलसँग यस अघि एउटा खेलमात्र खेलेको छ । चार वर्ष अघि भएको मैत्रिपूर्ण खेलमा ब्राजिल १–० ले विजयी भएको थियो ।
 
–एक वर्षअघि भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनासँग पराजित भएपछि खेलको १३ खेलमा ब्राजिल अपराजित छ । नौ जित र चार बराबरीको नतिजा निकालेको ब्राजिलले यस दौरान जम्मा तीन गोलमात्र खाएको छ ।
 
–विश्वकपमा ब्राजिलले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध पछिल्लो सात खेलमा एउटामा मात्र जित हात पार्न सकेको छ । उसले दुई बराबरी र चार हार खेल्दा सन् २०१४ मा क्रोएसियालाई भने हराएको थियो ।

प्लेयर्स टु वाच

अलेक्सान्दर मित्रोभिच
 
मित्रोभिच विश्व फुटबलमा अद्भुत क्षमता भएको खेलाडी नभएपनि उनी ब्राजिलको डिफेन्सलाई चुनौती दिन सक्नेछन् । सन् २०१८ मा उनले फुलह्याम र सर्वियाका लागि खेलेको कुल २६ खेलमा १८ गोल गरेका छन् । उनी निरन्तर राम्रो फर्ममा छन् । स्वीट्जरल्याण्डविरुद्धको खेलमा उनले सुरुवाती अग्रता दिलाएपनि त्यस खेलमा सर्वियाले जित हात पार्न सकेन । सर्वियाका लागि उनले ४० खेलमा १७ गोल गरिसकेका छन् ।
 
फिलिप काउटिन्हो
 
नेयमारको छायाँमा परेर उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेका काउटिन्होले पछिल्लो खेलमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनले स्वीट्जरल्याण्ड र कोस्टारिकाविरुद्धको खेलमा सुरुवाती गोल गरेका थिए । यो विश्वकपमा उनले दुई गोल गरिसकेका छन् । ब्रजिलका लागि उनले ३८ खेलमा १२ गोल गरिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया