४० देशका ६ सय लगानीकर्तासामु रामशरण महतले भने : स्टेडियम बनाउनूस्, नेपाल गज्जबको क्रिकेट गन्तव्य बन्न सक्छ

 चैत १५, २०७५ शुक्रबार १८:४८:१ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा शुक्रबारदेखि सुरु भएको नेपाल लगानी सम्मेलनले चारैतिर उत्साह थपेको छ ।

विशेषगरी सम्मेनमा राखिएका सत्रमा विदेशी लगानीकर्ताले देखाएको चासो र उद्घाटन सत्रमा विश्व बैंक, एसियाली विकास बैंक तथा केही बहुराष्ट्रिय कम्पनीका प्रमुखले नेपाललाई गरेको प्रशंसाले सरकारी र निजी क्षेत्र उत्साहित बनेको छ । 

उद्घाटन समारोहलाई सम्बोधन गरेका पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले गरेको सम्बोधन पनि अहिले चर्चामा छ । विशेषगरी प्रतिपक्षी दलको प्रतिनिधिको रुपमा नेपाल लगानी सम्मेलनलाई सम्बोधन गरेका महतले सरकारको भन्दा बलियो आवाजमा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । नेपालमा लगानी गर्दा पाइने फाइदाका बारेमा पनि खुलेर बयान गर्नुभयो ।

नेपालमा लगानी गर्नका लागि कानुनी झण्झट सकिएको बताएका महतले र वातावरणीय हिसाबले पनि लगानीका लागि उत्तम थलो भएको बताउनुभयो । उहाँले नेपालमा क्रिकेटको लोकप्रियता बढेसँगै ठूलो स्टेडियमको खाँचो रहेको कुरा ४० देशका ६ सय भन्दा धेरै लगानीकर्तालाई सुनाउनुभयो । 

विशेषगरी नेपालमा वर्षैभरि उत्तम मौसम हुने भएकाले क्रिकेट खेलको लागि मैदान निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको  भनाइ थियो । 

‘नेपाल एउटा गज्जबको क्रिकेट गन्तव्य बन्न सक्छ, त्यसैले लगानीको एउटा भाग यो पनि हुन सक्छ, अहिले भारत र पाकिस्तान शारजाहमा क्रिकेट खेल्छन्, तर नेपालमा पनि क्रिकेट स्टेडियम भएमा हिमाल हेर्दै खेल्न सकिन्छ’, पूर्व अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘अहिले पनि केही स्टेडियम बन्दैछन् तर पर्याप्त छैन, यदि पर्याप्त क्रिकेट मैदान भएमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको हब बनाउन पनि सकिन्छ ।’

यहाँको मौसमले गर्दा क्रिकेटको माहोल बन्न सक्ने उहाँको भनाइ छ । 

खासगरी खेलका कुरा कम गर्ने डा. रामशरण महतले ४० देशका ६ सय लगानीकर्तासामु क्रिकेट स्टेडियममा लगानी गर्न आग्रह गरेपछि सोल्टी होटलको हलमा बसेका नेपालीले ताली बनाएर उहाँको भनाइलाई स्वागत गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • प्रकाश स्पर्श

    March 30, 2019, 5:11 p.m.

    तैँले किन बनाइनस् । भएका उद्योग पनि खाइस् । भ्रष्ट हो यो ।बाँसबारी छालाजुत्ता खै ? सभागृह सुधारमा १४ करोड खाने यही हो।तीनकुने जस्ता पातामा त मुख गाड्ने पनि यही हो ।०५२ पछाडी दर्जनौँ छन् यसका काण्ड ।

  •  0 Reply

तपाईको प्रतिक्रिया