बाहिरिइसकेको कोष्टारिकालार्इ जितेर अघिल्लाे चरणमा पुग्ने दाउमा स्विट्जरल्याण्ड

 असार १३, २०७५ बुधबार १८:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोष्टारिका जारी विश्वकपबाट बाहिरिइसकेको छ । कोष्टारिका समूह ई मा सर्बिया र ब्राजिलसँग पराजय ब्यहोर्दै एक खेल अगाडि नै बाहिरिएको हो ।

समूहको अन्तिम खेलमा कोष्टारिकाले बुधबार रुसको निज्नी नोभगोरोड रंगशालामा स्विट्जरल्याण्डको सामना गर्दा उसका लागि प्रतिष्ठा जोगाउने अवसर हुनेछ ।
 
त्यसको ठिक विपरित स्विस टोलीका लागि भने यो खेल जित्नैपर्ने अवस्था छ । आजको खेल स्विस टोलीका लागि गर या मरको अवस्थामा छ ।
 
कोष्टारिकाबाहेक यस समूहबाट नकआउट चरणमा पुग्न तीनै टोलीका लागि उत्तिकै अवसर छ । ब्राजिलले सर्बियालाई हराएमा र स्विट्जरल्याण्डले आजको खेलमा कोष्टारिकालाई पराजित गरेमा विजयी दुई टोली नकआउट चरणमा पुग्नेछन् ।
 
यस समूहमा ब्राजिल र स्विट्जरल्याण्डको समान ४–४ अंक छ भने सर्बियाको ३ अंक छ । सर्बियाले ब्राजिललाई हराएमा र स्विट्जरल्याण्डले कोष्टारिकासँग बराबरी खेलेमा ब्राजिल विश्वकपबाट बाहिरिनेछ । जसको सम्भावना न्यून रहन्छ ।
 
सर्वियाविरुद्ध गोल गरेपछि खुसी मनाउने क्रममा अल्वानियाको झण्डाको नक्कल गरेको अभियोगमा दुई  जना स्विस स्ट्राइकर जर्दान शाकिरी र ग्रानित जाकाले फिफाको अुनसन्धानात्मक कारबाहीको सामना गरिरहेका छन् ।
 
दुवै खेलाडी कोसोभो–अल्वानियाली मूलका हुन् । उनीहरुको सेलिब्रेसन सर्बियालाई उत्तेजक बनाउने खालको भएको बताइन्छ ।

कोसोभो सर्वियाबाटै छुट्टिएको मुलुकको र उसले अहिलेसम्म कोसोभोलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन ।
 
तर, एफसी बासेलका डिफेण्डर ल्याङले भने यस घटनाले टिम झनै एकीकृत भएको र नकआउट चरणमा पुग्न एक जितका लागि तयार रहेको बताएका छन् ।

उनले पत्रकारहरुसँग भने, ‘हाम्रो टिम भावनात्मक रुपमा झनै बलियो भएको छ । हामी समूहमा छौं र एकसाथ छौं । सानातिना समस्याले हामीलाई केही फरक पार्दैन ।’
 
अर्कोतर्फ कोष्टारिकाका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हो । तर, भेट्रान जोनी एकोष्टाले भनेका छन् कि उनको टोली रुस पुगेका आफ्न समर्थकलाई खुसी दिलाउन चाहन्छ ।

 

प्लेयर्स टू वाच
 
ह्यारिस सेफेरोभिक – स्विट्जरल्याण्ड

 
बेनफिका स्ट्राइकर सेफेरोभिक कहिल्यै पनि शानदार गोलस्कोरर बन्न सकेनन् । तर, उनीबाट बुधबार दमदार प्रदर्शनको अपेक्षा गरिएको छ । अन्तिम १६ मा स्थान बनाउनका लागि जित्नैपर्ने खेलमा उनले अग्रपंक्तिमा शाकिरीमाथिको दबाब कम गर्र्नुपर्छ ।

 

क्रिष्टियन गाम्बोआ – कोष्टारिका

 ब्राजिलसँगको २–० को हारका बाबजुद नेयमारलाई लामो समयसम्म रोक्न सफल गाम्बोआबाट आजको खेलमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिन्छ । रिकार्डो रोड्रिग्वेज र स्टेभन जुवेरका साथ उनले ब्राजिलविरुद्ध शानदार प्रदर्शन गरेका थिए ।

 
म्याच फ्याक्ट्स

–स्विट्जरल्याण्ड र कोस्टारिका तेस्रो पटक आमनेसामने हुँदैछन् । दुवै टिमले एक–एक खेल जितेका छन् । 

–विश्वकपको पछिल्ला चार खेलमा कोस्टारिका जितविहीन छ । उसले तीन बराबरी र एक हारको नतिजा निकालेको छ ।

–आजको खेलमा पराजय भोगेमा कोस्टारिका अंकविहीन हुनेछ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया