सगरमाथा शिखर जाने बाटो निर्माणको काम सुरु, दुई दिनमा क्याम्प एक खोलिने

 चैत १९, २०७५ मंगलबार ९:३६:१० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा आरोहणको समय सुरु भएसँगै शिखर पुग्ने बाटो निर्माणको काम सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहणको याम सुरुभएसँगै चैत २ गते गतेदेखि आइसफल डाक्टरको टोलीले बाटो बनाइरहेका छन् ।

तर केही दिन यता मौसम प्रतिकुल हुँदा बाटो बनाउने कार्य भने प्रभावित बनेको छ । हिमाल आरोहणको याम सुरु भएसँगै सगरमाथा प्रदुषण नियन्त्रण समिति(एसपीसीसी) बाट खटिएका आइसफल डक्टरका संयोजक आङकामे शेर्पाका अनुसार एक हप्ता यता कुनै पनि काम गर्न सकिएको छैन ।

आइसफल डक्टर आङकामे शेर्पाको नेतृत्वमा गएको १० जनाको समूहले सगरमाथा आधारशिविरदेखि (क्याम्प) १ नजिकैसम्म बाटो बनाउने काम सकेको छ । आइसफल डक्टरले क्याम्प दुई सम्मको बाटो बनाउने छन् भने त्यसभन्दा माथि पर्यटनक आफैँ बाटो बनाउँदै सगरमाथाको शिखर पुग्ने गर्छन् ।

हिमाल आरोहणका लागि सोमबारसम्म १७७ जनाले अनुमति पाए 

देशका विभिन्न १२ वटा हिमाल आरोहणका लागि २३ समूहका १ सय ७७  जनाले अनुमति पाएका छन् । पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ८ समूहले अनुमति लिइसकेका छन् ।

यो समूहमा एक नेपाली सहित ७३ जना विदेशी नागरिक रहेका छन् । सन् २०१८ को यही समयमा सगरमाथा आरोहणका लागि ३४ समूह आएका थिए । यस्तै, ८ हजार ५ सय १६ मिटर उचाइको तोत्से हिमाल आरोहणका लागि २ समूहका ११ जना जना र नुप्त्से र आमा दब्बलम हिमाल आरोहणका लागि १÷१ समूहका २० जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार सोमबारसम्म ७ हजार ८ सय ६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि १२ जना र ६ हजार ८ सय १४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि ८ जनाले अनुमति लिएका छन् ।

आरोहीबाट ९ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन

सरकारले विभिन्न हिमाल अरोहणका लागि अनुमित लिएका आरोहीबाट ९ करोड ८४ लाख २६ हजार ८ सय २७ रुपैयाँ राजश्व संकलन गरेको छ । देशको विभिन्न १२ वटा हिमाल आरोहणका लागि अनुमित लिएका २३ समूहका १ सय ७७ जनाबाट यो राजश्व संकलन भएको हो ।

जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणकालागि अनुमति लिएका आरोहीबाट ८ करोड ६३ लाख २५ हजार ५ सय २५ रुपैयाँ राजश्व संकलन भएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । विभागका अनुसार तोत्से हिमाल आरोहीबाट २१ लाख ९० हजार ३ सय ३० र नुप्त्से हिमाल आरोहीबाट ७ लाख ९४ हजार ५ सय २० रोयल्टी संकलन भएको छ । यस्तै आमादब्लम हिमाल आरोहीबाट ३ लाख ५२ हजार ९ सय ६० रोयल्टी प्राप्त भएको छ ।

सगरमाथा आरोहणको रोयल्टी ऋतु अनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नु पर्नेछ । यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । 

यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मीयाममा १८ हजार २५० रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया