अख्तियारको अनुसन्धानमाथि कुनै पनि प्रकारको राजनीतिक दबाब आएकाे छैन : प्रमुख आयुक्त घिमिरे

 चैत १९, २०७५ मंगलबार १६:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- रासस

काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारको राजनीतिक दबाब नआएको स्पष्ट पारेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारका राजनीतिक दवाव नआएको प्रष्टयाउनु भएको हो । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले आयोग कुनै पनि प्रकारको राजनीतिक दवावमा नपरी संविधानले दिएको अधिकारभित्र रहेर अनुसन्धानको कामलाई स्वतन्त्रतापूर्वक अघि बढाउन सचेत रहेको पनि स्पष्ट पार्नु भयो ।

प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धान भैरहेको पनि समितिलाई जानकारी गराउनु भयो । हाल निगम संचालक समितिका पदाधिकारीहरुमाथिको अनुसन्धानको काम भैरहेको उल्लेख गर्दै उहाँले अव विदेशी कम्पनीहरुसँग अनुसन्धानको कामलाई अघि बढाउन १५ दिने सूचना जारी गरिएको पनि स्मरण गराउनुभयो । वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धानको कामलाई छिट्टै निष्कर्षमा पुर्‍याउन आयोग प्रतिबद्ध रहेको प्रमुख आयुक्त घिमिरेको भनाइ छ 

आयोगले स्थानीय तहमा भ्रष्टाचार बढदै गैरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल सबै स्थानीय तहमा लेखा परीक्षण हेर्ने संयन्त्रको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख आयुक्त घिमिरेले स्थानीय तहमा भ्रष्टाचार हुन नदिन आयोगले २१ वटा जिल्लाका अभिमुखिकरण कार्यक्रम संचालन गरेको र त्यसलाई आवश्यक्ताअनुसार सबै जिल्लामा विस्तार गर्दै लैजाने योजना रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।

बैठकमा समितिमा सदस्यहरुले राजनीतिक दवावका कारण अख्तियारले भ्रष्टाचारका ठूल्ठूला केसमाथि अनुसन्धान गर्न नसकेको दाबी गरेका थिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले राजनीतिक दवावका कारण ठूल्ठूला भ्रष्टाचारको अनुसन्धानको काम अघि बढाउन आयोगले नसकेको आशंका व्यक्त गर्नुभयो । उहाँले अनियमितता हुन नदिन अख्तियारले खेलेको भूमिका सन्तोषजनक नरहेको पनि बताउनुभयो ।

समितिका सदस्यहरुले जनताले भ्रष्टाचार बढदै गैरहेको महसुस गरे पनि त्यसलाई नियन्त्रण गर्ने काम हुन सकेको भन्दै चिन्ता पनि व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया