डिफेन्डिङ च्याम्पियन जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरियो

 असार १३, २०७५ बुधबार २२:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी आफू सहभागी भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । जर्मनी सन्  १९३८ पछि पहिलाे पटक समूह चरणबाटै बाहिरिएकाे हाे । खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले गोल गरेका थिए । त्यस्तै जर्मन किपर म्यान्युल निउर अगाडि बढेको मौका पारी त्यसको दुई मिनेटपछि नै कोरियाले अर्को गोल थपेको थियो । सन ह्यूङ मिनले खाली पोष्टमा गोल गरेका थिए ।

समूह एफ अन्तर्गतकै अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हराउँदै समूहविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह उपविजेता बन्दै मेक्सिको पनि अर्को चरणमा पुगेको छ । 

समूह चरणबाटै बाहिरिए पनि दक्षिण कोरियाले जर्मनीविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जर्मनीले दक्षिण कोरियालाई विश्वकपमा पाँच पटक पराजित गरेको  थियाे । सबैमा उसले जित हासिल गरेको थियाे र जम्मा १९ गोल गरेको थियाे ।  तर काेरियाले भने विश्वकपमा जर्मनीलाई पहिलाे पटक हराएकाे हाे ।

योसँगै अर्को अनौठो संयोग र नियति पनि जर्मनीले ब्यहोरेको छ । लगातार तीन विश्वकपमा साविक विजेता समूह चरणबाटै घर फर्किएको छ ।

सन् २००६ को इटली २०१० मा, २०१० को विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै घर फर्किएका थिए । त्यस्तै सन् १९९८ को विश्वकप विजेता फ्रान्स पनि सन् २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।
 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया