ब्राजिल र स्विट्जरल्याण्ड नकआउट चरणमा

 असार १४, २०७५ बिहिबार ७:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच पटकको च्याम्पियन ब्राजिलसँगै स्विट्जरल्याण्ड फिफा विश्वकप अन्तर्गत समुह ई बाट नकआउट चरणमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शून्यले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो ।

पहिलो हाफ सकिँदा ब्राजिल र स्विस टिमले एक एक गोलको अग्रता बनाए । प्रतिस्पर्धात्मक खेलको पहिलो आधा घण्टा ब्रजिलले सर्वियासँग गोल रहित बराबरी खेलेपछि ३६ औं मिनेटमा पउलिन्होको गोलमार्फत पाँच पटकको च्याम्पियन ब्रजिलले अग्रता बनायो । सर्वियाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा झन् आक्रामक खेल्यो ।

दोस्रो हाफको सुरुमा नै दुई वटा सुन्दर मौका पाएको ब्राजिलका लागि नेयमार र फिलिप कोउटिन्हाले मौका खेर फाले । तर ६८ औं मिनेटमा ब्राजिलले अन्तर दुई शून्यमा पुर्यायो । नेयमारको कर्नरमा थिएगो सिल्भाले हेडर गोल गरे । त्यसपछि सर्विया खेलमा फर्कन निकै प्रयास गरेको थियो तर सफल हुन सकेन । उसका स्ट्राइकर मित्रोभिचले दुई पटक डिबक्समा गोलको मौका पाउदा पनि सही दिशा दिन सकेनन् । खेलको अन्तिम १० मिनेटमा ब्राजिलले अरु दुई वटा सुन्दर मौका पाएको थियो । तर असफल बन्यो । अब ब्राजिलले प्रिक्वाटरफाइनलमा मेक्सिकोसँग खेल्नेछ ।

स्विट्जरल्याण्डले कोस्टारिकासँग अंक बाँड्यो

त्यही समूह अन्तर्गत स्विस टिमले पनि प्रतियोगिताबाट बाहिरीसकेको कोस्टारिकासँग एक एक गोलको बराबरी खेल्दै उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा पुग्यो ।  कोस्टारिकाविरुद्ध खेलको ३१ औं मिनेटमा स्विट्जरल्याण्डले अग्रता बनायो । उसका लागि जेमाइलीले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विस टिमले ५६ औं मिनेटमा गोल खान पुग्यो ।

कोस्टारिकाका लागि वाट्सनले गोल गर्न सफल भए । त्यसपछि ८८ औं मिनेटमा स्विट्जरल्याण्डले फेरि अग्रता बनायो । उसका जोसिप डार्मिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । पूरै खेलमा कोस्टारिकाले ६ वटा प्रहार पोष्टमा गरे पनि एक गोल मात्र गर्न सक्यो । अन्तिममा कोस्टारीकाले पाएको पेनाल्टीलाई ब्रायन रुइजले प्रहार गरेका थिए । रेफ्रिले भिएआरको मद्दतबाट गोल दिएका थिए ।

कोस्टारिकासँग बराबरी खेलेको स्विट्जरल्याण्ड समुह ई को उपविजेताका रुपमा नकआउट चरणमा पुग्यो । अब उसले नकआउट चरणमा स्विडेनसँग खेल्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया