हावाहुरी प्रभावित क्षेत्रमा महामारीको निगरानी : दुर्गन्ध छ तर अवस्था जटिल छैन

 चैत २२, २०७५ शुक्रबार १८:२४:३३ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – हपहपी गर्मी छ । दिनहुँ गर्मी बढ्दो छ । लामखुट्टेको हैरानी उस्तै छ । सफा पानी र शौचालयको पनि अहिलेसम्म व्यवस्था हुन सकेको छैन ।

बाराको फेटा गाउँपालिका ६ का नइमुदिन मियाँले खुला आकाशमुनि आउनुको पीडा पोख्नुभयो । आइतबार बेलुकाको हावाहुरीले उहाँजस्तै बारा र पर्साका झण्डै ६ हजार प्रभावितको दैनिकी कष्टकर बनाइदिएको छ । हावाहुरीले घरबास भत्केपछि बारा र पर्साका प्रभावित नागरिक खोला किनार तथा खुला चौरमा बस्न बाध्य छन् । त्रिपाल र टेन्टको ओत भए पनि  उनीहरुको बसाइ असुरक्षित छ ।

दुर्गन्ध बढी

अहिलेसम्म प्रभावित क्षेत्रमा कुनै पनि रोगको महामारी देखिइनसकेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हावाहुरी प्रभावित क्षेत्रमा कुनै तुरुन्तै देखिने तथा केहीचाहिँँ केही समयपछि देखिन सक्ने रोगको जोखिम छ । 

प्रभावित क्षेत्रमा खटिएको टोलीका अनुसार केही क्षेत्रमा पशुचौपाया र पोखरीका माछा मरेपछि दुर्गन्ध भने फैलिएको छ । मरेका पशुचौपायाबाट पनि रोग फैलन सक्ने सम्भावना छ । मरेका पशुचौपायालाई पुर्ने, गाड्ने, जलाउने गरी व्यवस्थापन गर्नुपर्ने देखिएको छ । त्यस्तै अहिले सफा खानेपानी र शौचालयको समस्या नै बढी चुनौती देखिएको प्रभावित क्षेत्रमा पुगेर फर्किनुभएका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो । 

रोगको जोखिम

हावाहुरीले विस्थापित र वरपरका छरछिमेकी सबै एकैठाउँमा समूहमा बस्नुपर्ने बाध्यता छ । कुनै पनि विपद्को बेला ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती/सुत्केरी बढी प्रभावित हुने गर्छन् । प्रभावितलाई धेरै खालका समस्या देखिने गरेका छन् । विपद् प्रभावित क्षेत्रमा धेरैजसो पानीजन्य, कीटजन्य तथा हावाजन्य रोग बढी देखिनसक्ने जोखिम हुन्छ । 

दुषित खानेपानी अनि शौचालयको व्यवस्था नै नभएपछि विभिन्न रोगको संक्रमण फैलन सक्ने डाक्टर लालले बताउनुभयो । आउँ, हैजा, झाडापखाला, टाइफाइड, जन्डिस, औलो, कालाजार, छालाको संक्रमण लगाएतका रोग देखिन सक्छन् । बारा र पर्सामा गर्मीका कारण लामखुट्टेबाट लाग्नसक्ने रोगको बढी जोखिम छ । समूहमा बस्नु परेकाले एक जनाबाट अर्कोमा मौसमी रुघाखोकी पनि सर्न सक्छ ।

नियमित स्वास्थ्य सेवाको अभाव

विपद्का बेला प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवा पनि अवरुद्ध हुन सक्छ । गर्भवतीको स्वास्थ्य जाँच, बच्चाको खोप, क्षयरोग, कुष्ठरोगीले नियमीत सेवा पाउन सकिरहेका हुँदैनन् । सरकारले हावाहुरीलगत्तै स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा खटिएको जनाएको छ । तर बढी जोखिममा पर्ने समूहमा संक्रमण फैलन सक्ने चिन्ताको विषय रहेको डाक्टर लालले बताउनुभयो । साथै घाइते र अंगभंग भएका व्यक्तिको उपचार र पुनःस्थापना आवश्यक छ । उनीहरुका लागि फिजियोथेरापीसमेत आवश्यक छ । फिजियोथेरापीका लागि पनि एक समूह खटिएको र तथ्याङ्कको आँकलन भैरहेको लालले जानकारी दिनुभयो ।

मनोसामाजिक परामर्श

विपदमा हुने डर, त्रासले पनि प्रभावितलाई मानसिक असर पारेको हुन्छ । २०७२ सालमा भूकम्पका बेला पनि यो समस्या देखिएको थियो । अहिले बारा र पर्साका प्रभावितलाई पनि मनोसामाजिक परामर्श आवश्यक हुन सक्छ । परामर्शले पुरानो अवस्थामा फर्कन सहयोग गर्छ । 

पानी र शौचालय मुख्य आवश्यकता

विपद् प्रभावित क्षेत्रमा सबैभन्दा बढी पानी र शौचालयको व्यवस्था गर्न सके सरुवा तथा अन्य रोगको जोखिम कम हुने डाक्टर लालले बताउनुभयो । रोग नियन्त्रण महाशाखाले सर्ने, नसर्ने रोग तथा मानसिक स्वास्थ्य पनि हेर्ने भएकाले टोली खटाएर आवश्यक निगरानीको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको अभाव छैन : मन्त्रालय

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मी र विशेषज्ञ सहितको टोली खटिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । टोलीले नियमित रुपमा महामारी फैलाउन सक्ने रोग र प्रभावित बिरामीको जानकारी लिने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया