पाँचथर गोल्डकप: डीएफसी मोरङ र झापाको विजयी सुरुवात

 चैत २४, २०७५ आइतबार २०:३३:२१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - फिदिममा आइतबारदेखि सुरु भएको तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डीएफसी मोरङ र डिफेन्डिङ च्यान्पियन विर्तामोड युनाइटेड झापाले विजयी सुरुवात गरेका छन् ।

स्थनीय फिदिम माविको खेल मैदानमा भएको खेलमा मिसन युनाइटेड क्लब ताप्लेजुङ विरुद्ध ६–१ को फराकिलो जित दर्ता गर्दै मोरङ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

फिदिम माविको खेलमैदानमा आइतबार बिहान भएको खेलमा मोरङलाई जिताउन विदेशी खेलाडी अर्मान भिडाम एक्लैले चार गोल गरे । ताप्लेजुङका लागि ७० औं मिनेटमा सन्त राईले सान्तवना गोल फर्काए । मोरङका अर्मानले खेलको म्यान अफ् दि म्याच बन्दै पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

शनिबार दिउँसोका लागि तय भएको प्रतियोगिताको उद्घाटन खेल निरन्तरको बर्षात्का कारण स्थगित भएपछि यी दुईबीचको खेल आइतबार बिहान खेलाइएको हो ।

यस्तै आइतबार दिउसो भएको खेलमा रेडहर्ष क्लब इलामलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोलले पराजित गर्दै डिफेन्डिङ च्यान्पियन झापाले पनि विजयी सुरुवात गरेको छ । निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरि खेलेपछि खेलको नतिजा ट्राइबेकरबाट निकालिएको हो ।

झापाका योगेश गुरुङ खेलको म्यान अफ म्याच झापाका योगेश गुरुङ बन्दै पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

वैशाख २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद चार लाख तथा उपविजेता हुने टिमले नगद नगद २ लाख पाउने आयोजक पाँचथर क्लबले जनाएको छ । प्रतियोगितामा दुई ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया