बाह्र बालबालिकाको अभिभावकत्व लिँदै पूर्व मन्त्री शर्माले गरे विद्यालय भर्ना

 बैशाख ४, २०७६ बुधबार १८:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम -बालगृहमा बसिरहेका अभिभावकविहीन १२ जना बालबालिकालाई पूर्व गृहमन्त्री एवं  प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले विद्यालयमा भर्ना गर्नुभएको छ । 

आठबीसकोट नगरपालिका–११ सिमबजारको सिस्ने हिमालबाल गृहमा बस्दै आएका १२ जना बालबालिकालाई वडा नं. ९ मा रहेको दीपज्योति आधारभूत विद्यालयमा भर्ना गरिएको हो । अघिल्लो शैक्षिक सत्रको भर्ना अभियानको दिन अभिभावकत्व ग्रहण गरेर भर्ना गरेका ६ बालक र ६ बालिकालाई यो वर्ष पनि शर्माले विद्यालयमा भर्ना गरिदिनुभएको हो । 

अभिभावकत्व ग्रहण गरिसकेपछि यो वर्ष पनि उनीहरुलाई विद्यालय भर्ना गर्न आफैं उपस्थित हुन नसक्ने भएपछि जनक बटालामार्फत विद्यार्थी भर्ना गरिएको हो ।

विद्यालय भर्ना गरेकै दिन उनीहरुलाई वर्षभर पुग्ने शैक्षिक सामग्री पनि प्रदान गरिएको छ । विद्यालय पोशाक नगरपालिकाले दिने भएकाले शर्माले कापी र कमल सहयोग गर्नुभएको छ । 

शैक्षिक सत्र २०७६ को भर्ना अभियान सुरु भएसँगै उनीहरुलाई भर्ना गरिएको हो । शर्माले अभिभावकत्व ग्रहण गरेका मध्ये ५ जना आमाबाबु दुवै नभएका बालबालिका छन् । आठबीसकोट नगरपालिका–१२, का नवराज बुढा मगर, डिल्लीबुढा मगर, ५ नम्बर वडाका बमबहादुर गिरी, बिर्खबहादुर गिरी र पुतली थापाका आमाबुबा दुवैको मृत्यु भएको छ । 

यसैगरी बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरेका कारण संरक्षणविहीन बनेका आठबीसकोट नगरपालिका–११ कीडिला सिर्पाली, मनिषा सिर्पाली, वडा नं ९ कि सुशिला चदारा र वडा नं ११ का गोपाल विकको पनि शर्माले अभिभावकत्व ग्रहण गर्नुभएको छ । 

बुबाको मृत्युपछि आमा घरबारविहीन बनेका आठबीसकोट नगरपालिका–९ का जीवन बटाला, ८ कि यसुदा सार्की र आमाको मृत्युपछि बुबा सम्पर्कविहीन भएकी त्रिवेणी गाउँपालिका–१० रुकुम पश्चिमकी खिमा ओलीलाई पनि शर्माले अघिल्लो वर्षदेखि अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

१२ जना नै अघिल्लो वर्ष भर्ना भएको कक्षाबाट राम्रो अंकसहित उत्तीर्ण भएर माथिल्लो कक्षा पुगेका छन् । नवराज कक्षा ५, डिल्लीबुढा २, डिला २, मनिषा ४, सुशीला २ र गोपाल ३ कक्षामा भर्ना भएका छन् । यसैगरी जीवन ३, यसुदा ५, खिमा ४, बमबहादुर ४, विर्खबहाुदर १ र पुतली ५ कक्षामा भर्ना भएका छन् । 

उनीहरुको भरणपोषणका लागि पनि शर्माले अघिल्लो वर्ष २ लाख ७७ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । शर्मा आफैले र सहयोगबाट पहल गरेर बाल गृहलाई आर्थिक तथा अन्य सामग्री सहयोग गरेको बाल गृह सञ्चालक समितिकी अध्यक्ष सुनिता चनाराले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया