जेट एयरवेज बन्द भएपछि भारत जाने हवाई टिकट पाउन मुश्किल

 बैशाख ६, २०७६ शुक्रबार २०:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौबाट भारतको नयाँ दिल्लीसहित अन्य ठाउँ जाने यात्रुहरुले हवाई टिकट पाउन छाडेका छन् । 

भारतीय विमानसेवा कम्पनी जेट एयरवेजले आफ्ना उडान अनिश्चित कालका लागि स्थगित गरेसँगै नेपालबाट भारतका विभिन्न स्थानमा जाने यात्रुहरुले हवाइ टिकट पाउन छाडेका हुन् । 

उडान स्थगित हुनुअघि जेट एयरले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो । भारतको राजनधानी नयाँ दिल्लीसम्म उडान गर्ने जेटले हरेक दिन चारवटाभन्दा बढी उडान गर्ने गरेको थियो । 

जेट एयरसँगै एयर इन्डिया, इन्डिगो र नेपाल एयरलायन्सले नेपालबाट उडान गर्ने गर्थे । अहिले जेट एयरको उडान स्थगित भएपछि एयर इन्डिया, इन्डिगो र नेपाल एयरलायन्समा यात्रुको चाप बढेको छ ।  

एयर इन्डियाले काठमाण्डौबाट नयाँ दिल्लीतर्फ दिनको दुईवटा र काठमाण्डौबाट कोलकाता हप्तामा तीनदेखि चारवटा उडान सञ्चालन गर्दै आएको छ । इन्डिगोले भने नयाँ दिल्लीमा दैनिक एउटा उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले दैनिक दुईवटा उडान गर्दै आएको छ ।

नेपाल वायुसेवा निगमले एक दिन मुम्बई र एक दिन बेङ्गलोर गरेर प्रत्येक दिन एउटा उडान गर्ने गरेको छ ।  दैनिक चार वटाभन्दा बढी उडान गर्ने जेट एयरको उडान अनिश्चितकालका लागि स्थगित भएपछि अन्य एयरलाइन्समा अहिले टिकट पाउन मुश्किल हुँदा काठमाण्डौबाट भारत जाने यात्रुहरु समस्यामा परेका हुन् ।  
अन्य एयरलायन्समा वैशाखभरि नै टिकट बुकिङ भइसकेकाले त्यस अघि हवाइमार्गबाट भारत जान खोज्ने यात्रुले टिकट पाउन नसक्ने एकजना हवाइ टिकट बिक्रेताले बताए । 

यस्तै भुटानको रोयल भुटान एयरलायन्स र ड्रुक एयरको विमान पनि काठमाण्डौ हुँदै भारतीय शहरमा पुग्ने गर्छन् । तर यी दुई विमानको टिकट यहाँका टिकट बिक्रेताहरुबाट पाइँदैन । यी दुई विमान हुँदै भारत जाने हो भने सम्बद्ध विमानकै कार्यालयमा गएर टिकट लिनुपर्ने अवस्था रहेको टिकट बिक्रेताहरु बताउँछन् ।

जेट एयरको उडान अनिश्चित कालका लागि स्थगित भएसँगै अघोषित रुपमा अन्य हवाइ कम्पनीहरुले काठमाण्डौबाट भारतका लागि  झण्डै तीन गुणा भाडा बढाएको पनि गुनासो आएको छ । 

लामो समयदेखि आर्थिक संकट झेल्दै आएको भारतीय विमान कम्पनी जेट एयरवेजको बिहीबारदेखि सबै उडान बन्द भएको हाे ।  


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया