सडक पिच हुने भएपछि स्थानीयहरु गाउँ फर्किन थाले

 बैशाख ७, २०७६ शनिबार २०:५९:४८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सडक पिच हुन थालेपछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकावासी आफ्नै घर फर्किन थालेका छन् ।

अर्घाखाँची जिल्लाकै अति विकट अर्थात जिल्लाकै कर्णाली भनेर चिनिने सिद्धारामा सडक पिच हुन थालेपछि जग्गाको मूल्य मात्र नभइ व्यवसायिकता पनि बढेकोमा स्थानीयहरु अत्यन्तै हर्षित भएका छन् । शितगंगा नगरपालिकाको केन्द्र ठाडामा आउने कच्ची बाटो रहे पनि बर्षातको समयमा बाटो बन्द हुदै आएको थियो । त्यही सडककै कारण स्थानीयहरु धमाधम बसाइसराइ गरेर गएका थिए । आज तिनै गाउँबासी घर फर्किरहेका छन् ।

एक वर्ष पहिलेसम्म १२ देखि १५ हजार रोपनीमै जग्गा बेचेर हिँडेकाहरु अहिले पछुताएका छन् । पहिले जग्गा बिक्री गरेर गएकाहरु अहिले सडक पिच हुन थालेपछि जग्गा खोज्दै आउने गरेको शितगंगा नगरपालिका १० का वडा अध्यक्ष हिम्मत पोख्रेलले बताउनुभयो । 

वडा नम्बर १० हर्रेका माधव प्रसाद पौडेलले एक वर्ष अगाडि आफूले जग्गा बेच्न खोज्दा कसैले नकिनेको तर अहिले यस क्षेत्रमा जग्गा किन्न आउने मानिसहरु ह्वात्तै बढेको बताउनुभयाे ।  

रुपन्देही र कपिलबस्तुबाट व्यवसायीक योजनाकासाथ हजाराँै रोपनी जग्गा किन्न आउने मानिसहरु बढेका छन् । ‘अहिले जग्गा बेच्न स्थानीयले छाडे । जग्गा बिक्री गरेर तराइ झरेका मानिसहरुपनि गाँउ फर्कन सुरु गरेका छन’, पौडेलले भन्नुभयो । 

राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट चाक्ला सिद्धारा, पाकुरी , नँयाबस्ती, धान खोला सडक निर्माण हुन थालेको हो । लुम्बिनी अर्घाखाँची पुस्पा जेभीले २४ करोड ७४ लाखको लागतमा अहिले १० किलोमिटर पीचको काम गरिरहेको लुम्बिनी अर्घाखाँची पुस्पा जेभीका प्रमुख बसन्त भुसालले बताउनुभयो । 

यो सडक पिच भएपछि पाँच घण्टा हिँड्नुपर्ने बाटो बसबाट आधा घण्टामै तय गर्न सकिनेछ ।
हर्रेका ७३ वर्षीय बलबहादुर नेपालीले भन्नुभयो, ‘सडक पिच नहुँदा गाडी जान मान्दैन थिए । पाँच घण्टा हिँड्नुपर्‍थयाे, अब त २०-२५ मिनेटमै पुगिने भयो ।’ 

सडक पिच नहुँदा बर्खामा बाटाे भत्किएर उपचार गर्न ४ घण्टा स्टेचर र डोकोमा बोकर बिरामी ठाडा लैजानु पर्ने बाध्यता थियो । अब बिरामीलाई पनि गाडीमा चढाएर अस्पताल पुर्‍याउन सकिने भयो भन्दै नेपालीले खुसी व्यक्त गर्नुुभयो । 

सडकले स्थानीय कृषि क्रान्ति ल्याउने आशा

यो सडकले त्यस क्षेत्रकाे कृषि क्रान्तिमा जोड दिने देखिएको छ । सडक पिच हुन सुरु गरेसँगै रुपन्देही र कपिलवस्तुबाट व्यवसायीहरु आएर यहाँ कृषि तथा पशु फर्महरु सञ्चालन गरेका छन् । 

विकट ठाउँ भएकै कारण यहाँका मानिसहरु बर्सेनि बसाइ सराइ गर्दै आएका थिए । सिद्धाराको वडा नम्बर १० बाटमात्रै बर्सेनि २५ देखि ३५ घरसम्म बसाइ सराइ गर्ने गरेका थिए । सडक पिच हुनेभएपछि बसाइ सराइ गर्ने क्रम रोकिएको स्थानीय जनता आधारभूत विद्यालयका प्रधनाध्यापक मणिराम पोख्रेलले बताउनुभयाे । 

यस सडकबाट शितगंगा १० सिद्धाराका स्थानीय मात्र नभइ यस क्षेत्रका हजारौ मानिसहरु लाभान्वित हुने आशा गरिएकाे छ । कामको गति हेर्दा ताेकिएकै मितिमा काम सम्पन्न हुने देखिएको  निमित्त जिल्ला समन्वय अधिकारी शषाकान्त घिमिरेकाे भनाइ छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया