सरकारले संविधान कार्यान्वयन हुने गरी कानुन निर्माण गर्न सकेन : संयोजक भट्टराई

 वैशाख ९, २०७६ सोमबार १२:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुने गरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाउनुभएको छ ।

संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद पनि व्यवहारिक नभएको दाबी गर्नुभयो । सोमबार ललितपुरमा डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ पुस्तकको विमोचन गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । 

संयोजक भट्टराईले वित्तीय संघीयता र प्राकृतिक स्रोतसाधनको बाँडफाँडसम्बन्धी विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूल विषय रहेकाले विवाद निरुपणका लागि व्यापक बहसको जरुरी रहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूल चुरो भएको उल्लेख गर्दै त्यसै अनुरुपको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिनुभयो ।

पुस्तकमा संविधान बमोजिम नेपालको संघीयतामा प्रदेश सरकारको भूमिका सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ । प्रदेश सरकार नै संघीयतामा जनअपेक्षा पूरा गर्ने सरकार भए पनि त्यही अनुसारको अधिकार प्रत्यायोजन हुन नसकेको पुस्तकका लेखक शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया