दूतावासमार्फत यूएईमा ४४ जनाले लिए एनआरएन कार्ड, धेरैले गरेनन् नवीकरण

 बैशाख ९, २०७६ सोमबार १३:४८:२ | उमाकान्त पाण्डे

यूएई – नेपाली दूतावास यूएईमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ एनआरएनएको सदस्यता कार्ड लिएका छन् ।

३ जना महिला र ४१ जना पुरुषसहित जम्मा ४४ जनाले अहिलेसम्ममा एनआरएनएको सदस्यता लिएको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताउनुभयो ।

एनआरएनए सदस्यता कार्ड लिनेको सँख्या बर्सेनि बढिरहे पनि धेरैले नवीकरण नगरेको दूतावासले जनाएको छ । आर्थिक वर्ष ०७३÷०७४ मा  १ महिलासहित ११ जना पुरुषले मात्रै एनआरएनए कार्ड लिएका थिए । त्यस्तै ०७४÷०७५ मा २ महिलासहित  ११ जनाले लिएका थिए । 

सदस्यता कार्ड लिनेमध्ये अहिलेसम्म ११ जनाले मात्र सदस्यता नवीकरण गरेका छन् । अघिल्लो वर्ष ४ जनाले मात्र नवीकरण गरेका थिए । 

२ सय ७० दिर्हाम अथवा झण्डै आठ हजार दुई सय रुपैयाँ शुल्क तिरेर एनआरएनए कार्ड लिन सकिने र हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यूएईमा धेरैजसो व्यवसायीहरुले एनएआरएन कार्ड लिने गरेका छन् । यहाँ व्यवसाय सञ्चालनका लागि नेपालबाट आर्थिक कारोबार गर्न र पैसा ल्याउन केही सहज हुने भएकाले एनआरएनए कार्ड प्रयोग गर्ने गर्छन् । 

सरकारले पररास्ट्र मन्त्रालयमा एनआरएनए महाशाखामार्फत एनआरएनएलाई हेर्ने व्यवस्था गरेको र त्यही अनुरुप विदेशस्थित नेपाली नियोगबाटसमेत एनआरएनए कार्ड लिन सक्ने कानुनी व्यवस्था रहेको छ । 

राष्ट्रिय समन्वय परिषदमा २५ सय सदस्य 

राष्ट्रिय समन्वय परिषदमार्फत एनआरएनए यूएईको सदस्यता लिनेको संख्या भने धेरै छ । एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार आइसीसीको विधानअनुसार हाल २५ सय जनाले एनआरएनएको सदस्यता लिएको र त्यसमा १५ प्रतिशत महिला सदस्य छन । 

वैदेशिक रोजगारमा महिलाको संख्या थोरै भएको तथा खाडीका देशमा घरेलु कामदारका रुपमा धेरै महिला रहेका कारण पनि एनआरएनएमा महिला सहभागिता न्यून रहेको श्रेष्ठको भनाइ छ । 

यूएईएईमा सन् २००५ मा एनआरएनए गठन भएको हो । अहिले यहाँको सरकारी निकायमार्फत नेपाली एशोसिएसनका रुपमा संस्थाले कानुनी मान्यता पाएको छ । एनआरएनए आईसीसीको विधानमा सार्क देशभन्दा बाहिरका देशमा दुई वर्षभन्दा धेरै समय बस्नेलाई सदस्यता प्रदान गर्न सक्ने प्रावधान छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया