प्रधानमन्त्री ओलीको प्रश्न : आजै फुट्छ, भोलि नै फुट्छ भन्ने ज्योतिषिले एमाले र माओवादी मिल्छ किन भनेन ?

 बैशाख ९, २०७६ सोमबार १५:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पालामा केही कमी कमजोरी भए पनि देश विकासमा सरकार लागेको बताउनुभयो । 

उहाँले मेलम्चीको ठेकेदार भागे पनि मेलम्चीको पानी छिट्टै नै काठमाण्डौ आउने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेकपा नेतृत्वकाे सरकार सबै काम गर्न सक्षम रहेकाे पनि दाबी गर्नुभयाे ।

नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा ओलीले बोलीमा केही तलमाथि भए पनि भवितव्यले दुई पार्टी एक नभएको स्पष्ट पार्नुभयो । कतिपयले नेकपा आजै फुट्यो, भोलि नै फुट्छ भनेर हल्ला फैलाए पनि फुट्ने गरी पार्टी एकता नभएको बताउनुभयो । ‘यो महिना टुक्रिन्छ, त्यो महिना टुक्रिन्छ भनेर अहिले त ज्योतिषिले पनि भन्न थालेका छन् । एमाले र माओवादी मिल्छ भनेर ज्योतिषिले कहिल्यै भन्यो । त्यो पनि त भन्नुपर्यो नि ज्योतिषिले ।’

प्रधानमन्त्री ओलीले पार्टी एकतामा प्रचण्डकाे भूमिका निकै नै उल्लेख्य रहेकाे बताउनुभयाे । प्रचण्डको 'बाेल्ड'  निर्णयले नै दुई पार्टी एक ठाउँमा आइपुगेकाे बताउनुभयाे ।

त्यस्तै कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर अगाडि हिँडेको देख्दा आफूलाई अचम्म लागेको नेकपा अध्यक्ष ओलीले बताउनुभयो । यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग एकता गर्नुपर्ने ओलीले बताउनुभयो ।

साथै उहाँले देशमा पृथकतावादी आन्दोलन गरेकालाई मूलधारको राजनीतिमा ल्याएको बताउनुभयो । पृथकतावाद समाप्त हुनु देशका लागि खुशीको कुरा भएको बताउनुभयो । केही मान्छे भने पृथकतावादी आन्दोलन सकिएकाले केमा खेल्ने भनेर चिन्ता गरिरहेको आरोप लगाउनुभयो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया