प्रदेश २ सरकारले गर्न सकेन कर्मचारी पदस्थापन, बढी भ्रष्टाचार हुने अड्डामा जान कर्मचारीको लबिङ

 बैशाख १४, २०७६ शनिबार ९:४८:५४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – कर्मचारी पठाइ दिएन भन्दै सधैँभर संघीय सरकारको खेदो खन्ने प्रदेश २ सरकारले एक महिना बित्न लाग्दा समेत समायोजन भएर आएका कर्मचारीहरुको पदस्थापन गर्न सकेको छैन । 

प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा  विगत एक महिनादेखि सयाैँ कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।

समान्य प्रशासन मन्त्रालयबाट प्रदेश २ मा पदस्थापनको लागि २ हजार ४ सय २२ कर्मचारी नामावलीसहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महिनाको मध् तिर पठाएको थियो । जसमा अहिलेसम्म लेखा अधिकृत, शाखा अधिकृत, सहलेखापालजस्ता कर्मचारीहरुका मात्रै पदस्थापन गर्न सकेको छ । नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधकतर्फको कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयाँै कर्मचारीको पदस्थापन भएको छैन । जस कारण सयाैँकर्मचारी मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् ।

मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्न आएका एक कर्मचारीले भन्नुभयो, ‘हामीलाई कतै पदस्थापन नगरेसम्म त त यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने हो । यो हाम्रो रहर होइन । प्रदेश सरकारले चाँडै पदस्थापन गरोस् । हामी काममा खट्छौँ ।’

अन्य सबै प्रदेशहरुमा कर्मचारी पदस्थापनको काम दुई साता अघि नै भइसकेको छ । प्रदेश २ मा कर्मचारी पदस्थापन नहुँदा विभिन्न कार्यालयहरुमा कर्मचारी अभावको कारण दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ । विकासको कामहरु पनि कर्मचारी अभावले गति लिन सकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले कर्मचारी पदस्थापनका लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुने बताउनुभयो ।
 
सबभन्दा बढी यातायात कार्यालयमा जाने कर्मचारी ७५ प्रतिशत

पदस्थापनका लागि ९० प्रतिशतभन्दा बढी कर्मचारीले सबभन्दा बढी  भ्रष्टाचार र अनियमितता हुने कार्यालय रोजेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार अनुसार ७५ प्रतिशत कर्मचारीले यातायात व्यवस्था कार्यालय रोजेका छन् ।

त्यस्तै क्रमशः सडक डिभिजन,  भौतिक पूर्वाधार कार्यालय कर्मचारीको बढी प्राथमिकतामा क्रममा छ । यातायात व्यवस्था कार्यालयमा बढी भ्रष्टाचार हुने गरेकाले कर्मचारी प्राथमिकतामा ती कार्यालय राखेका छन् । त्यस्तै सडक डिभिजन र भौतिक पूर्वाधार पनि बढी अनियमितता हुने कार्यालय हो ।  
 
पैसा र पावरको चलखेल

श्रोतका अनुसार रकम र पावरको चलखेल भइरहेकोले पनि कर्मचारी पदस्थापन ढिलाइ भएको हो । कर्मचारीले बढी कमाइ हुने कार्यालयमा पदस्थापन हुन मन्त्री तथा पहुँच भएका सांसद र नेतासम्म हारगुहार गरिरहेका छन् ।

 यातायात, भौतिक पूर्वाधार र सडकमा जान कतिपय कर्मचारी लाखौँ रकम दिन समेत तत्पर रहेको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अन्य सबै प्रदेशमा कर्मचारी पदस्थापन भइसक्यो । यहाँ हामीले कहिले हाम्रो पदस्थापन हुन्छ भनेर बाटो कुरेर बसेका छौँ । ढिलाइ हुनुमा पैसा र पावरको चलखेल भएको हाम्रो आशंका छ । हाम्रै कतिपय कर्मचारी मित्र पैसा लिएर पनि मुख्यमन्त्री, मन्त्री र नेताको घरमा धाइरहेका छन् ।’

त्यति मात्र होइन मन्त्री र नेताहरुले आफ्ना निकटका कर्मचारीहरुलाई राम्रो कमाइ हुने कार्यालयमा सेटिङ गर्न सिफारिस गरेकाले पनि पदस्थापनमा समस्या भइ ढिलाइ भएको हुन सक्ने मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीले बताए ।

मुख्यमन्त्री कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले पदस्थापनमा पावर र रकमको चलखेल विषयमा आफूलाई केही थाहा नभएको बताउनुभयो । तर प्रमुख सचिव दीपक कार्की अस्ट्रेलिया भ्रमणमा रहेको र मुख्यमन्त्री पनि विभिन्न कार्यक्रमहरुमा व्यस्त रहनु भएकाले ढिलाइ भएको उहाँको भनाइ छ ।  

यता प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सांसद मन्जु यादवले समयमै कर्मचारीलाई पदस्थापन गर्न नसक्नु प्रदेश सरकारको असफलताको संकेत रहेको प्रतिक्रिया दिनुभयो । प्रदेश सांसद यादवले भन्नुभयो, ‘कर्मचारी छैन भनेर प्रदेश सरकारलाई दोषरोपण गरी बस्ने । तर अहिले आएका कर्मचारीलाई एक महिनामा पनि पदस्थापन गरी काममा खटाउन नसक्नु कस्को दोष हो ?’

असार मसान्त नजिक आउन लागेकाले विकासको काममा गति दिन कर्मचारीलाई तुरन्त खटाउन नसक्नुलगायतको प्रदेश सरकारको वर्तमान कामले संघीयतालाई असफल पार्ने षडयन्त्रमा लागेको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया