आमालाई चिठी !

 बैशाख २१, २०७६ शनिबार ९:३९:३७ | इन्द्रसरा खड्का
unn.prixa.net

पूजनीय आमा, 

साष्टाङ्ग ढोग ।

आराम छु, आरामको कामना गर्दछु । हामी यहाँ सबै सञ्चै छौँ । तर, तिमीलाई त्यहाँ कस्तो छ कुन्नि, केही थाहा छैन । 

आमा आज किन किन धेरै याद आयो । फोन गरौं भने फोनै लाग्दैन । चिठी लेखेर पठाउँ भने कसको हातमा पठाउँ ? कसरी तिमीलाई भेटौँ ? कसरी यो सञ्चो बिसञ्चोको खबर तिम्रोे कानमा थमाउँ ? जहाँ न कोही आफन्त पुग्छन्, न केही सञ्चारका साधन । 

तिमी कहाँ जो पुग्ने हुन्छन्, तिनी नबोलेरै जान्छन् । जो कहिल्यै फर्केर आउँदैनन् । तपाइँ बस्ने त्यो ठाउँ किन सबैको प्यारो बनेको होला ? ढिलोचाँडो सबैले त्यो ठाउँमा पुग्नैपर्छ ।

आमा तिमी त यति टाढा गयौ कि अब त फर्केर आउने कुनै आशा नै छैन । 

८ वर्ष भयो तिमीसँग भेट नभएको ।  सबैले आमा भनेर बोलाएको सुन्दा तिम्रै याद आउँछ । जब जब दशैँ, तिहार जस्ता चाडबाड आउँछन्, तिमीलाई नै सम्झन्छ यो मन । हरेक पलपलमा तिमी नै मनमा बसेकी हुन्छौ । 

बिरामी पर्दा, अलिकति ठेस लाग्दा ऐया आमा भन्दै तिम्रै नाम ठोकिन्छ यो ओठमा । राम्रो काम गर्दा, नराम्रो काम गर्दा सबैभन्दा पहिले तिमीलाई नै सम्झन्छु ।

खोइ किन किन आज तिम्रो याद आयो । मन कुटुक्क खायो । अनि यी शब्द नलेखी मनै थाम्न सकिन । यतिका वर्ष कतै तिमी आउँछ्यौकी भनी  पर्खी बसेँ । तर, फर्किनौँ आमा । 

सपनीमै भए पनि एकपटक तिम्रो बोली सुन्न पाए । एक पटक देख्न पाए मात्रै पनि यति मन आत्तिदैंन थियो होला । धेरै भयो हिजोआज सपनामा पनि तिमीलाई देख्न नपाएको । कतै सञ्चो छैन कि भन्ने पीर पनि लाग्छ । 

हामीलाई छोड्नेबेला त तिमीलाई कति गाह्रो थियो । छाती दुखिरहन्थ्यो । न त राम्रोसँग बस्न सक्थ्यौ न खान नै । गाह्रो भएर बोलन नसकेको म देखेरै महसुस गर्न सक्थेँ । आमा कतै हिजोआज झन झन गाह्रो पो भयो कि ? पहिलेको भन्दा अहिले झन् अप्ठ्यारोमा परेकी छौ कि ? पीर लाग्छ । 

आजै जस्तो लाग्छ, ‘म मर्छु होला अब बाँच्दिन घरको सबैभन्दा जेठो तँ नै होस् घरपरिवार तेरै जिम्मा’ भन्दै मलाई जिम्मेवारी सुम्पेको । 

साँच्चै तिमी कति निष्ठुरी है । जन्म दिएर यति चाँडै चटक्क छोडेर गयौ । कसरी भुल्न सकेकी आमा ? के तिमीलाई हाम्रो याद आउँदैन र ? यदि तिमीलाई छोराछोरीको याद आउने भए यसरी हामीलाई बच्चामै छोडेर जाने थिएनौँ आमा । 

म मान्छु, तिमीलाई जुनसुकै अस्पताल पुर्‍याउँदा पनि बचाउन सकेनौँ । नेपालभित्र र भारतका विभिन्न अस्पतालमा पुगेर सकेसम्म गरेका थियौँ । हामीले गर्नुपर्ने सबै कर्तव्य गरेकै हो । तर हाम्रो केही लागेन त के गरौं आमा ?

आमा जुन दिन तिमीले छोड्यौ नि त्यो घर, त्यही दिनदेखि मैले पनि छोडेँ । तिमी बिना बस्न सकिएन त्यो घरमा ।

दूध चुस्न नपाउँदा भोकले कराएको त्यो सानो भाइ, तिमीबिना छटपटाएका टुहुरा भाइबहिनी रोएको, अनि तिम्रोे अभावमा बुवा छटपटाएको टुलुटुलु हेर्न सक्ने सामर्थ्य थिएन मसँग र हिँडे त्यही दिनदेखि घर छोडेर ।

मैले घर छोडेर हिँडे पनि आफ्नो कर्तव्यबाट एक कदम पनि पछि हटेकी छैन आमा । मैले छोरी हैन तिम्रो छोरा भएर कर्तव्य निभाउने प्रयास गरेको छु । तिमी साथमा भइदिएको भए कस्तो हुन्थ्यो होला हाम्रो परिवार । भाइबहिनी, बुवा सबै कति खुशी हुँदा हुन् ? 

थाहा छ आमा जसले जन्मँदै तिम्रा दूध चुस्न पाएन । तिम्रोे अनुहारको त उसलाई केही कल्पना पनि छैन । हाम्रो साने, तिम्रो कान्छो छोरा अहिले कति ठूलो भइसकेको छ । 

उसले सोध्छ कहिलेकाहीँ दिदी हाम्रो आमा साँच्चै कस्तो हुनुहुन्थ्यो भनेर । यति चाँडै किन हामीलाई छोडेर जानुभयो ? हामीले के गल्ती गरेका थियौँ र आमा हामीलाई छोडेर जानुभयो भन्छ ।

मसित कुनै जवाफ हुँदैन । के भनेर समझाउनु उसलाई । मैले कुनै उत्तर नै दिन सक्दिन आमा । तिमी त एउटा चरीले गुँडमा पखेटा पलाउन लागेका बचेरालाई जस्तै गरी चटक्क छोडेर गयौ ।

बाँच्नु त हामीले थियो नै । तिमी त निष्ठुरी भयौ, छोडेर गयौ । तर, हामी चाहेर पनि सकेनौं तिमी भए ठाउँ जान । तिम्रा बचेरा अब बचेरामै सीमित छैनन् । पखेटा पलाईसके सबैका । मन परेको ठाउँ सजिलै पुग्न सक्छन् । दिनभरि डुलेर आफ्नो लागि चारो आफैं खोज्न सक्छन् ।

तिमी नरिसाउ है आमा तिमीलाई म अर्को नयाँ खबर पनि सुनाउँदै छु । तिमीलाई डाह पनि लाग्न सक्छ यो सुनेर । आफूमाथि सौता आएको एउटा महिलालाई कहाँ सैह्य हुन सक्छ र ? तर, तिमीले यो कुरा सहनै पर्छ आमा । तिमी गएदेखि शून्य थियो त्यो घर । टुहुरा थिए सबैजना । तिमीले दूध चुसाउन नपाउँदै छोडेको त्यो सानेलाई हेर्नु थियो । सँगै जिउने मर्ने कसम खाएको जीवनसाथीले आधाबाटोमै साथ छोडेर गएको पीडा थियो । उनीहरुकै खुशीको लागि भए पनि हामीले यो कदम चाल्नै पर्दथ्यो आमा ।

तिम्रो सौता, अनि हाम्री कान्छी आमाले कहिल्यै नराम्रो गरिनन् । तिम्रो पीडामा छटपटाई रहेको त्यो परिवारमा सकिनसकी खुशी दिने प्रयास गरिरहेकी छन् । 

तिमीले गर्न नसकेको जिम्मेवारी सम्हालेकी छिन् उनले । हामीलाई तिमीले जस्तै माया गर्छिन उनले पनि । तिम्रो अभावको महसुस गर्न नदिने प्रयास त गरिरहेकी हुन्छिन् । तर यो पापी मन खोइ किन किन मान्दै मान्दैन । 

अनि म आमा तिमीले सिकाएको राम्रो बाटोमा कदम चालिरहेकी छु । तिमी हामी जस्तै दुःखी, गरिब, महिला, अनाथ, पीडितको बुलन्द आवाज बनेर । दुःखमा परेकाहरुलाई सुख त दिन सक्दिनँ । तर, अन्यायमा परेका महिला, बालबालिका जो कोहीलाई न्याय दिलाउन कलम चलाएर लागिरहेकी छु । 

आमा तिमीले सोचे जस्तो कहाँ छ र यो समाज, अनि यहाँका मान्छे । दुःखी गरीबहरुलाई यो संसारमा बाँच्नै गाह्रो छ । दिनहुँ महिला बलात्कारको शिकार भइरहेका छन् । हत्या, हिंसा, बलात्कारका घटना नभएको कुनै दिन नै हुँदैन । 

महिला भएर बाँच्न झनै गाह्रो छ यो समाजमा । राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन् । गर्न नसक्दा कमजोर ठान्छन् । तर पनि यो समाजमा म कहिल्यै हार मानेर पछाडि हट्ने छैन । सत्य, निश्पक्षको लागि कहिल्यै डराउने छैन । यो मेरो कलामले संसारै बदल्न नसके पनि अन्यायमा परेकालाई न्यायको ढोकासम्म पुर्‍याउन सकौं, कसैको ओठमा हाँसो ल्याउन सकौं, यो काम म निरन्तर गरिनै रहने छु ।

यो मनको व्यथा यस्तै गन्थनमन्थन कुरा तिम्रो काखमा टाउको राख्दै तिमी माझ गर्नु त कति थियो थियो आमा । के गर्नु तिमी मैले लेखेको यो कुरा देख्छौ देख्दिनौ, यो खबर कसैले तिमी माझ पुर्‍याइदिन्छ या दिँदैन ? 

आमा यो जन्ममा त तिमीले हामीलाई सधैंभरि माया दिन सकिनौ । अनि हामी तिम्रो साथ हुन सकेनौं । सुनेकी छु ८४ जुनी फेरिसकेपछि मान्छेको चोला पाइन्छ रे । यदि यो धर्तीमा मान्छेको चोला धारण गर्न पाए भने अर्को जन्ममा पनि म तिम्रै छोरी भर जन्मन पाउँ । 

यति भन्दै म यो कलम यही बन्द गर्छु ।

उही तिम्री छोरी    

इन्द्रसरा  

अन्तिम अपडेट: जेठ ४, २०७६

2 Comments

  • खम्म ठकुल्ला

    May 5, 2019, 1:35 a.m.

    पढ्दा पढ्दै आँखा बाट आँसु झरेको पत्तै पाएन! के गर्ने मिस मान्छे ले जन्मेको दिन आफ्नो जाने दिन पनि लिएरै आको हुन्छ रे। पक्कै पनि सजिलो त हुन्न होला आमा बिना जीवन जिउन तर तपाईं को साहस र जागरूकता देखेर लाग्छ तपाईंको आमा तपाईं माथि अति नै गर्व गरिराख्नु भको होलान्! तपाईं अति नै शक्तिशाली महिला हुनुहुन्छ र अगाडि पनि यस्तै बढ्नु हुन्छ भन्ने आशा छ! अगाडि बढ्दै गर्नु। सफल जीवन को कामना का साथै धेरै साहस। भगवानले साहस र शक्ति प्रदान गरोस पाइला प्रगति र समाज विकास मा अघि बढी रहुन्। -KT

  •  0 Reply
  • बिबेक खड्का

    May 4, 2019, 1:10 p.m.

    so much touching article ! Just become speech less !!

  •  0 Reply

तपाईको प्रतिक्रिया