राष्ट्रकविको जन्मथलो पुस्तुनमा ‘माधवप्रसाद घिमिरे पार्क’ बन्दै

 बैशाख ३०, २०७६ सोमबार १४:१६:१८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - मर्स्याङ्दी गाउँपालिका-६ पुस्तुनमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा ‘माधवप्रसाद घिमिरे पार्क’ निर्माण हुने भएको छ । नेपाली साहित्यमा राष्ट्रकवि घिमिरिले पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँको जन्मथलो पुस्तुनमा पार्क निर्माण गर्न लागिएको हो ।  

पार्क निर्माणका लागि गएको वर्ष गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको थियो । यस वर्ष गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले पार्क निर्माणका लागि जग्गा सम्याउने र पर्खाल लगाउने काम भैरहेको छ । पार्क निर्माणमा स्थानीयले श्रमदान पनि गर्नेछन् । 

‘राष्ट्रकविको योगदानको सम्मानर्थका साथै साहित्यिक-पर्यटन प्रवर्द्धनका लागि राष्ट्रकविको नाममा उहाँकै जन्मथलोमा पार्क निर्माण गर्न लागिएको हो’, उपाध्यक्ष विकले भन्नुभयो ।

राष्ट्रकवि घिमिरेको वि.सं. १९७६ असोज ७ गते लमजुङको साविक बाहुनडाँडा गाविसको पुस्तुन भन्ने ठाउँमा जन्म भएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । उहाँले गीत, नाटक, खण्डकाव्य पनि लेख्नुभएको छ ।

घिमिरेका कविताहरुले सिङ्गो देशको र जनजनको भोगाइ बोल्ने गर्दछ । त्यसैले पनि घिमिरे नेपालीहरुको मनमा हुनुहुन्छ । लमजुङलाई राष्ट्रकविको जिल्ला भनेर चिनिदाँ सिङ्गो लमजुङबासी गर्व महसुस गर्छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया