जनवादी बिहे गरेर भित्र्याएकी बुहारीलाई जातीय विभेद

 जेठ २, २०७६ बिहिबार १४:५४:४४ | अमर सुनार
unn.prixa.net

दैलेख - सामाजिक परिवर्तनको उदाहरण देखाउन तत्कालीन सशस्त्र युद्धमा संलग्न भूमिगत पूर्णकालीन कार्यकर्तासँग पार्टीकै पहलमा १५ वर्ष अघि जनवादी विवाह गरेकी एक दलित महिला अहिले आफूमाथि जातीय विभेद भएको भन्दै अदालत पुगेकी छिन् । 

सशस्त्र युद्धताका २०६१ वैशाख २० गते नौमूलेको भरभरेमा गणेशबहादुर रावतसँग अन्तरजातीय जनवादी विवाह गर्नुभएकी महाबु गाउँपालिका ५ काशिकाँधकी ३३ वर्षीया शोभा सुनार (रावत) जेठाजु ५६ वर्षीय डिलबहादुर रावतले जातीय विभेद गरेको भन्दै अदालत पुग्नुभएको हो । 

युद्धताका घरमा पुग्दा सहजै भान्सामा समेत जान दिने गरेकोमा शान्ति प्रक्रिया लगत्तै जेठाजु डिलबहादुरले दलितको छोरीलाई बुहारी स्वीकार्न नसकिने भन्दै आफ्नो श्रीमान् गणेश र आफूबीच सम्बन्ध तोड्न प्रयास गरेको शोभाले बताउनु भएकाे छ ।  

शान्ति प्रक्रियापछि सुर्खेतकी क्षेत्री थरकी मीना महतारासँग २०६८ असोजमा गणेशको दोस्रो विवाह गराइदिएको पनि शोभाको उजुरीमा खुलाइएको छ । शोभाका श्रीमान् गणेशबहादुर र सौता मीना अहिले पनि भारतमै लुकेर बसेका छन् ।    

युद्धकालमै २०६२ साउन २५ गते छोरी रुचीकुमारी रावत र घरमा बस्न नदिएको कारण शाेभा सदरमुकाममा डेरा गरेर बस्दै आउनुभएकाे थियाे । २०६७ असार २३ गते छोरा सुशीलसिंह रावत जन्मिसकेपछि अर्को विवाह गराएर पन्छ्याउन सजिलो हुने ठानेर जेठाजुले गणेशको दोस्राे विवाह गराइदिएको स्थानीयहरुले टिप्पणी गरेका छन् ।

गणेशले दोश्रो विवाह गरे लगतै शोभाले बहुविवाह मुद्दा गर्ने तयारी गरेपछि २०६८ असोजको अन्तिम हप्ता गणेश र मीना भागेर भारतको हिमाञ्चल पुगेपछि शोभाले दुल्लू नगरपालिका-९ पादुकाकाे माइतीकै संरक्षणमा दुई छोराछोरीको लालनपालन र शिक्षादीक्षा गराउँदै आउनुभएको छ ।

 

लामो समयपछि सासू मन्धरा रावतको निधन भएको थाहा पाएपछि ४५ दिने बरखी खुलाउन २०७५ फागुन १८ गते काशिकाँध पुग्दा शोभामाथि जातीय विभेद भएपछि यो घटना अदालती मुद्दाको रुपमा आएको हो । 

बरखी खुलाउँदा पण्डित ज्वालाप्रसाद उपाध्यायले जेठाजु डिलबहादुर र जेठानी दिदी बिष्णु रावतलाईसँगै राखेर काजक्रिया कर्म गराएका थिए । यही विषयलाई लिएर दलितकी छोरी भएर पनि हामीसँगै बस्न, खान खोजेकी भन्दै घर छोड्न डिलबहादुरले धम्की दिएको स्थानीय रुचीकुमारी रावतले बताउनुभयो । 

घटनापछि सहज समाधानका निम्ति २०७५ चैत ३ गते महाबु गाउँपालिकाको न्यायिक समितिमा विवाद समाधानका दिएको निवेदनमाथि गाउँपालिकामा भएको छलफलमा अंश दिने भनी सहमति भए पनि गाउँमा पुग्दा ‘घर छुन दिन्न जहाँ जे गर्छेस् गर्’ भनी धम्क्याएपछि जातीय विभेदविरुद्ध अदालती मुद्दा गर्नु परेको शोभाले बताउनुभयो । 

यो मुद्दाको विषयमा डिलबहादुर रावतलाई जिल्ला प्रहरी कार्यालयले वैशाख १० गतेदेखि हिरासतमा राखी अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत बिहीबार अभियोग पत्रसहित जिल्ला अदालतमा पेस गरेको इञ्चार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

आरोपित डिलबहादुरले युद्धकालमा सबैले स्वीकारे पनि शान्ति प्रक्रियापछि समाजले दलितकी छोरी बुहारी बनाएको भनी आफूलाई हेला गर्न थालेपछि घरमा राख्न गाह्रो परेको प्रतिक्रिया दिनुभयो । उहाँलाई दैलेख जिल्ला अदालतले खोजेको बखत हाजिर हुने गरी ४० हजार रुपैयाँ धरौटीमा छोडेको छ । 

‘त्यसबेला आदर्श देखाएर जनवादी विवाह गर्ने गणेशले घर परिवारमा व्यवस्थापन गर्न नसकेको कारण दाजुले जातीय विभेदको मुद्दा खेप्नु पर्‍यो’ महाबु गाउँपालिका ५ वडाध्यक्ष जगतबहादुर हमालले भन्नुभयो, ‘यो गणेशको कमजोरी हो ।’  
 

अन्तिम अपडेट: चैत ६, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया