शीतल योङहाङका हत्यारालाई पक्राउ गर्न माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

 जेठ ६, २०७६ सोमबार १६:५६:४८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – हिलिहाङ गाउँपालिका–४ कि १५ वर्षीया किशोरी शीतल योङहाङको हत्याका मुख्य योजनाकारलाई छिट्टै पक्राउ गरेर कारबाही गर्न माग गर्दै पाँचथरको सदरमुकाम फिदिममा सोमबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

हत्या भएको एक साता बितेको र हत्याका मुख्य योजनाकार भनिएका व्यक्ति पहिचान भएर पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्यारालाई छिटो पक्राउ गर्न माग राखेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

शीतल योङहाङको हत्यारालाई कारबाही गर, घाँटी रेट्न पाइँदैन, शीतल याङहाङलाई न्याय दे लगायत लेखेको प्लेकार्ड बोकेर फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । फिदिम बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय पाँचथरको अगाडि पुगेर विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

जिल्लाको हिलिहाङ गाउँपालिका– ४, पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको गएको वैशाख २९ गते साँझ घाँटी रेटी हत्या गरिएको अवस्थामा घरनजिकैको सडक छेउमा शव फेला परेको थियो ।

घटनामा संलग्न जिल्लाको फाल्गुनन्द गाउपालिका–२ पात्लेभञ्ज्याङका २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई प्रहरीले गएको ३० गते नै पक्राउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार फाल्गुनन्द–२ कै २० वर्षीय पदम तामाङ भने फरार रहेका छन् । फरार रहेका तामाङ शीतलको प्रेमी रहेको र प्रेम सम्बन्धमा खटपट आएपछि तामाङले शीतलको हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फरार तामाङको खोजी भइरहेको पाँचथरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । हत्या गरिएकी योङहाङ स्थानीय सिद्ध माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत थिइन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया