पाँचथर हत्याकाण्ड : गाउँलेहरु त्रसित, रातभर सुतेका छैनन् !

 जेठ ८, २०७६ बुधबार १८:५७:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा सोमबार राति दुई परिवारका नौ  जनाको विभत्स हत्या गरिएपछि गाउँमा त्रास फैलिएको छ । 

दुई परिवारका नौ जनाको एकै रातमा धारिलो हतियार प्रयोग गरेर भएको त्यो विभत्स हत्याकाण्ड सम्झिँदा जिउ नै सिरिङ्ग हुन्छ । एकैरात दुई परिवारका सबै सदस्यको विभत्स हत्यापछि गाउँलेहरु मंगलबार रातभर नसुतेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले बताउनुभयो ।

'गाउँमा पुरै त्रास फैलिएको छ, गाउँलेहरु रातभर सुतेका छैनन्', अध्यक्ष माखिमले भन्नुभयो । झण्डै एक किलोमिटरको दूरीमा रहेको दूई वटा घरमा भएको कहालीलाग्दो हत्याकाण्डले गाउँमा त्रास उत्पन्न भएको रविमा रहेको इलाका प्रहरी चौकीका इन्सपेक्टर तेजनारायण यादवले बताउनुभयो । 

कहालीलाग्दो घटनापछि गाउँलेले शान्ति सुरक्षाको समेत माग गरेका छन् । यस क्षेत्रमा विद्यालयहरु पनि खुल्न सकेको छैन भने सरकारी कार्यालमा समेत काम हुन सकिरहेको छैन ।

सोमबार रातिको विभत्स हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमती पुर्सिमाया फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेया फियाकले ज्यान गुमाएका थिए ।  

यस्तै ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक छोरीहरु छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा र आठ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको थियो । 

बमबहादुर र धनराज ज्वाइँ ससुरा हुन् । परिवारको वंश नै सखाप हुने गरी भएको कहालीलाग्दो हत्याकाण्डले सबैलाई स्तब्ध बनाएको छ । हत्याकाण्डमा धनराज शेर्माको परिवार नै सखाप पारिएको छ भने बमबहादुरको नातिनी १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छिन् । 

उनको प्रहरी संरक्षणमा दमकको लाइफलाइन अस्पतालमा उपचार भैरहेको छ । अनुसन्धानको सबैभन्दा बलियो पक्षका रुपमा प्रहरीले  उनै बालिकालाई मानिएको छ ।

घटना झन् रहस्यमय बन्दै

दुई परिवारका नौ जनाको विभत्स हत्यापछि स्थानीयबासीले बताए अनुसार, प्रहरीको शंकाको घेरामा रहेका बमबहादुरको कान्छा ज्वाइँ मानबहादुर माखिमको झुण्डिएको  अवस्थामा शव फेला परेपछि हत्याकाण्ड थप रहस्यमय बनेको छ । 

मंगलबार दिउँसो हत्याकाण्ड स्थलबाट झण्डै डेढ घण्टा टाढाको स्थलमा झुण्डिएको अवस्थामा माखिमको शव फेला परेको थियो । माखिमले आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र कपडा भेटिएपछि प्रहरीको शंकामा झन् बल पुग्यो तर माखिमले लगाएको कपडामा रगतको निशानी नै नभएपछि घटना थप रहस्यमय बन्दै गएको प्रहरीले बताएको छ । 

झुण्डिएर आत्महत्या गरेका माखिमको झोलामा रगत लागेको तीन वटा टिसर्ट भेटिएपछि घटना झनै रहस्यमय बन्दै गएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया