श्रमले उचित सम्मान र मूल्य नपाउँदा पुर्ख्याैली आरन व्यवसाय संकटमा !

 जेठ ९, २०७६ बिहिबार २०:३८:५२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मर्स्याङ्दी गाउँपालिका–५, निउरीका मनबहादुर कामीले आफ्नो बुवाबाट हँसिया, बञ्चरो लगायतका फलामका सामग्री बनाउन सिक्नुभयो । हाल उहाँ आरन व्यवसाय सञ्चालन गरेरै बस्नुभएको छ । जीवन चलाउन धेरथोर सघाउ पुर्‍याइरहेको छ उहाँलाई, पुख्र्यौली आरन व्यवसायले । 

‘पुर्ख्याैली पेशा सिकेर खेर जाँदैन । खटिन सके यसैबाट पनि कमाउन सकिन्छ । म यसै व्यवसायमा छु । मलाई पुर्ख्याैली पेशाले जीवन चलाउन केही सहज बनाएको छ’, उहाँले भन्नुभयो । 

उहाँका अनुसार पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ । पेशाप्रति युवापुस्ताले चासो नदिनु, परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले  उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेशा बिस्तारै लोप हुँदै गएको आरन व्यवसायीहरु बताउँछन् । 

प्रयोग घट्दो   

मर्स्याङ्दी गाउँपालिका–५, छिचुका ६१ वर्षीया सन्ते कामीका अनुसार बजारमा थुप्रै तयारी फलामका सामग्री पाइन्छन् । गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्दो छ ।

‘पहिले बजारमा तयारी सामग्री पाइँदैनथ्यो । त्यसैले आरनमा फलामका सामग्री बनाउन आउनेको चाप हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले यस्ता सामग्री बनाउन र मर्मत गर्न आउनेको संख्या तुलनात्मक रुपमा निकै कम छ ।

पुर्ख्याैली पेशालाई आधुनिक ढंगले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोत–साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्न सक्ने मर्स्याङ्दी गाउँपालिका–५, का वडाध्यक्ष लेखमान गुरुङले बताउनुभयो । 

आम्दानी बढाउन आधुनिक आरनकाे व्यवस्था 

मानापाथीको भरमा नभइ नगदमा काम गर्दा फाइदा हुने आरन व्यवसायीहरु बताउँछन् । हरियो वन आरसिडिसी लमजुङले मर्स्याङ्दी गाउँपालिका–५, को चिप्ला, सन्जापु, निउरी र छिचुमा रहेका ६ घरपरिवारलाई आधुनिक आरन वितरण गरेको छ ।

आरसीडिसी हरियो वन लमजुङका कार्यक्रम अधिकृत तिलक चापागाइँका अनुसार परम्परागत रुपमा चलिरहेका आरन व्यवसायलाई आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायीकरण गर्ने र आरन व्यवसायीहरुको समय तथा श्रमको बचत र आम्दानीमा वृद्धि गर्ने उद्धेश्यले आधुनिक आरन वितरण गरिएको हो ।

मर्स्याङ्दी गाउँपालिका–५, सन्जापुका धनबहादुर विक आधुनिक आरनबाट कम समयमा धेरै सामग्री बनाउन सकेको बताउनुहुन्छ । 

‘पहिले दिनभर दुःख गर्दा मुश्किलले एउटा कोदालो बन्थ्यो । आधुनिक आरन पाएसँगै अहिले दैनिक ४ वटा हँसिया र २ वटा कोदालो बनाउन भ्याएको छु,’ विगत एक दशकदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले मुस्कुराउँदै भन्नुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया