पोखरा महानगरपालिकाको अर्मलाकोट गाउँमा कटुवाल प्रथा कायमै

 जेठ ११, २०७६ शनिबार २०:२२:२१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलाकोट गाँउमा अझै पनि कटुवाल प्रथा कायम छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको कार्यक्रममा गाउँमा सूचना पुर्‍याउने काम कटुवालले नै गर्छन् । 

अर्मलाकोटका ४७ वर्षिय शेर बहादुर परियारले गाउँमा हुने सार्वजनिक सूचनालाई समुदायमाझ पुर्‍याउने काम गर्नुहुन्छ । गाउँका कटुवाल रहनुभएको परियारले गाउँमा हुने कामको सार्वजनिक रुपमा सूचाम प्रवाह गर्दै आउनुभएको छ । पोखरा महानगरको सबै भन्दा उच्च भूभागको गाउँ हो अर्मलाकोट गाँउ । यो गाउँ सूचना प्रविधिको पहुँचबाट टाढा भने छैन ।

 गाउँमा विद्युत, मोबाइल, टेलिभिजन रेडियो लगायतका सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा परियारलाई भ्याइनभ्याइ भएको हो । 

कटुवालको कामलाई ‘घोक फिराउने’ भनेर समेत बुझिन्छ । ६०/६५ को हाराहारीमा घरधुरी भएको अर्मला गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, विद्यालयको बैठक हुँदा, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा अनि गाँउको होमस्टेमा पाहुना आउँदा सूचना पुर्‍याउने काम कटुवालको हो । ‘गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले एक ठाँउबाट मात्र घोक फिराउँदा नसुनिएला की भनेर ४ ठाँउमा गएर घोक फिराउँछु’ उहाँले भन्नुभयो । 

कटुवालको काम गरेवापत उहाँ बर्षमा प्रत्येक घरबाट २ पाथी कोदो पाउनुहुन्छ । गएको २ वर्षदेखि यो काम गर्न थालेको उहाँले बताउनुभयो । ‘पहिला बाले यो काम गर्नुहुन्थ्यो त्यसपछि ३ जनाले काम गरेपछि मेरो पालो आयो’ उहाँले भन्नुभयो । अर्मलाकोट टोल विकास समितिका अध्यक्ष सिंहबहादुर परियार वा कोषाध्यक्ष जसबहादुर गुरुङ्गले निर्देशन दिएपछि उहाँले सबै गाँउलेलाई सूचना सम्प्रेषण गर्दै आउनुभएको छ । 

२ वर्ष अघिसम्म अर्मलाकोट गाँउमा कटुवालको काम डिलप्रसाद जैसीले गर्दै आउनुभएको थियो । उहाँको स्वरमा समस्या आएपछि टोल विकास समितिकै निर्णयमा उहाँले काम थाल्नुभएको हो । जैसी भन्दा अगाडि सिंहबहादुर परियार, काजीमान नेपाली र शेर बहादुरका बुवा कृष्णबहादुर परियारले कटुवालको काम गरिसक्नुभएको छ ।

गाउँमा रेडियो, टीभी अनि मोबाइल भए पनि कटुवालले घोक फिराएपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय ५५ वर्षीय देउसरी गुरुङले बताउनुभयो । “गाँउमा बैठक भयो भने फोन त आउछ तर कटुवालले सुनाएपछि बल्ल ढुक्क हुन्छु” उहाँले भन्नुभयो । गाँउमा मोबाइलको टावरले समस्या पर्ने भएकाले पनि कटुवालको आवश्यक परेको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङ्गले बताउनुभयो । परम्परादेखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उहाँको तर्क छ । 

गाँउमै कटुवालको काम गर्न पाउँदा परियारलाई पनि खुशी लागेको छ । ‘नजिकका अरु गाँउमा कटुवाल प्रथा छैन यो प्रथालाई जागाएर राख्नुपर्छ भनेर लागेको छु’ उहाँले भन्नुभयो । परियारले प्रत्येक घरबाट दिने २ पाथि कोदोले जिविकोपार्जन गर्न समस्या भएको बताउनुभयो । परियारले भन्नुभयो, ‘सुविधा थपिए काममा सहज हुने थियो ।’

कटुवाललाई प्रथा नभएर पेसा बनाउनुपर्ने उहाँको भनाइ छ । वडाबाट केही सहयोग भयो भने यो पेसा पनि जोगिने र आफूलाई पनि जिविको पार्जनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: कात्तिक २५, २०७६

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया