पाँचथर हत्याकाण्ड : स्थानीय भन्छन् – नुनकाण्डमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्दा ठूलो घटना भयो

 जेठ १२, २०७६ आइतबार १४:२:१२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति दुई घरमा भएको  ९ जनाको विभत्स हत्या प्रहरीको कमजारीले भएको स्थानीयले आरोप लगाएका छन् ।

घटना भएको घरमध्ये हत्या गरिएका धनराज शेर्माको घरमा गएको वैशाख ३० गते एक संस्थाले आयोजना गरेको तालिममा सहभागीलाई थुक्पाको खाजा खाँदा नुनमा सिसाको धुलो मिसाइएको पाइएको थियो ।

शेर्माको घरमा तीन महिने ढाका बुनाई तालिम लिइरहेका महिलाहरु खाजा खाएपछि बिरामी परेपछि नुनमा हेर्दा सिसा भेटिएको थियो । त्यस घटनामा आठ जना बिरामी परेका थिए । दुई जना सिकिस्त नै बनेका थिए । उनीहरु सदरमुकामस्थित जिल्ला अस्पताल र समर्पित अस्पतालमा उपचारपछि निको भएका थिए ।

त्यतिबेलै परिवारको सामूहिक हत्या गर्ने योजनाले नुनमा सिसा मिसाइएको स्थानीयको आशंका छ । प्रहरीसम्म पुगेको सिसा काण्डलाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको स्थानीयको आरोप छ ।

त्यतिबेलै प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याएको भए यत्रो घटना नहुनसक्ने स्थानीय मिक्सन खड्काले बताउनुभयो । विभत्स हत्याकाण्डमा  मारिएकी धनराजकी श्रीमती जस्मिताले त्यतिबेला नै अहिले प्रहरीले हत्याको आशंका गरेका ज्वाइँ मानबहादुर माखिमलाई नै शंका गरेको स्थानीय बताउँछन् ।

नुन काण्डलाई सुक्ष्म ढंगले छानबिन गर्नुपर्नेमा जनप्रतिनिधिहरुको रोहबरमा मिलाइएको स्थानीयले बताएका छन् । प्रहरीले दोषी शंका गरेको माखिम पनि मृत भेटिएपछि घटना रहस्यमय बनेको छ । नुनकाण्डमा नै शंका गरिएका उनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन नसक्नु प्रहरीको कमजोरी भएको स्थानीयले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँरले भने नुनकाण्ड सोमबार हत्या गरिएकी जस्मिता फियाकको घरमा भएको र स्थानीयले आशंका गरेका व्यक्तिको नाममा किटानी जाहेरी नपरेको वताउनुभयो । ९ जनाको विभत्स हत्याकाण्डसँगै नुनकाण्ड पनि अनुसन्धान हुने कुवँरको भनाइ रहेको छ ।

विभत्स हत्याकाण्डको स्थलगत अनुसन्धान सकियो

२ घरमा भएको विभत्स हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको प्रहरीले बताएको छ ।

मिक्लाजुङ गाउपालिकाको केन्द्र रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) १ नम्बर प्रदेशअन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनास्थल क्षेत्रमा स्थलगत अनुसन्धान गरेका थिए ।

स्थलगत अनुसन्धानमा हत्यामा प्रयोग भएको सामग्री संकलन, छिमेकी र हत्या गरिएकाका आफन्तलगायत विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको डीएसपी कुवँरले बताउनुभयो ।

घटना बारेमा स्थलगत अनुसन्धान सकिँदासम्म स्थानीयले शंका गरेका व्यक्ति मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरीले बताएको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता  छ÷ छैन् भन्ने बारेमा थप अनुसन्धान हुने कुवँरको भनाइ रहेको छ ।

विभत्स हत्या भएको अर्काे दिन प्रहरीले शंका गरेका व्यक्ति माखिमको  झुण्डिएर आत्महत्या गरेका अवस्थामा घटना स्थलभन्दा झण्डै डेढ घण्टाको दूरीमा शव भेटिएको थियो । उनी हत्या गरिएका बमबहादुरका कान्छा ज्वाइँ हुन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया