सगरमाथाको यो यामको आरोहण सकियो, झण्डै ६ सय आरोही शिखरमा

 जेठ १३, २०७६ सोमबार १६:१९:६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – यस वर्षको यो यामको सगरमाथा आरोहण आजबाट सकिएको छ । आज अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

यस वर्ष अनुमति लिएका आरोही र उनीहरुका सहयोगीसमेत गरेर झण्डै ६ सय जनाले सगरमाथाको शिखर चुमेका सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । गएको वैशाख ३१ गते बाटो बनाउने आठ जना शेर्पाहरु शिखरमा पुगेसँगै सुरु भएको यस यामको सगरमाथा आरोहण आजबाट सकिएको हो । 

यस वर्ष सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति लिएका थिए । आरोहीका लागि सहयोग गर्नेहरु समेत शिखरमा पुग्ने भएकोले आरोहीको संख्या दोब्बरभन्दा बढी हुन्छ । यस वर्ष सगरमाथा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन् ।  

सन् १९५३ मा पहिलो पटक सगरमाथाको शिखरमा मानव पाइला पुगेको हो । त्यसयता झण्डै १२ हजारले सगरमाथा आरोहण गरेका छन् । सन् २०१८ सम्म ५९२१ जनाले सरकारसँग अनुमति लिएर सगरमाथा आरोहण गरेका छन् । यस वर्ष अनुमति लिएका ३८१ जना गएकोमा आरोहणको एकिन तथ्याङक आइसकेको छैन । यस वर्ष आरोही र आरोहण सहयोगी गरेर ६ सयभन्दा बढीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अनुमति लिएका संख्याकै हाराहारीमा सहयोगी पनि शिखरमा पुग्ने भएकोले अहिलेसम्म १२ हजार भन्दा बढी आरोही शिखरमा पुगेको अनुमान् छ । 

पहिलो शिविरमा पुग्ने बाटोमा हिमनदी बढ्नुको साथै माथिल्ला शिविरहरुमा पनि हिउँ पग्लिने क्रम सुरु भएकोले आजबाट शिखरतर्फ जान सकिने अवस्था नरहेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । अघिल्ला वर्षहरुमा मे २९ सम्म मौसम अनुकुल रहने भए पनि जलवायु परिवर्तन लगाएतका कारण पल्लिा वर्षहरुमा हिउँ चाँडै पग्लिने क्रम सुरु भएको श्रेष्ठले बताउनुभयो । 

विश्व रेकर्ड 

यस वर्ष सोलुखुम्बुका कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका छन् । उनले अघिल्लो वर्ष २२ पटक सगरमाथा चढेका थिए । यस वर्ष एक हप्तामा दुई पटक सगरमाथाको आरोहण गरेका हुन् । अरुले पनि विभिन्न रेकर्डका दाबी गरे पनि पर्यटन विभागलाई कामीरिताको रेकर्डमात्र जानकारी भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताउनुभयो ।

विभागलाई जानकारीबिना रेकर्ड मान्य नहुने र त्यो अवैध हुने भएकोले कारबाहीसमेत हुने आचार्यले बताउनुभयो । 

अवैध क्रियाकलाप 

यही हप्ता एक जना सगरमाथा आरोहीले सगरमाथाको शिखरमा हस्तमैथुन गरेको तस्बिर भाइरल भयो । पर्यटन विभागले त्यो तस्बिर सन् २०११ मा सगरमाथा शिखिरमा भएको क्रियाकलापको भएको बतायो । अघिलो बर्वा केही आरोहीले आधार शिविरमा नग्न अवस्थामा बनाएको भिडियो भाइरल भयो । दुई वर्षअघि एक जनाले सगरमाथामा स्केटिङ खेलेको तस्बिर सार्वजनिक गरे ।

केही वर्षअघि एक जोडीले सगरमाथामा विवाह पनि गरेका थिए । एक दशक अघि एउटा हेलिकप्टर कम्पनीले त शिखरमा हेलिकप्टर उतारेर हेलिकप्टरको विज्ञापन नै तयार गर्‍यो । आधार शिविरमा सांगीतिक कार्यक्रम गर्ने, अवैध रुपमा सगरमाथा चढ्नेदेखि, अवैध बस्तुहरु शिखरमा लैजानेसम्मका घटनाहरु सार्वजनिक भइरहेका छन् ।  
 

अन्तिम अपडेट: चैत १, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया