त्रिशूली नदी अनुगमन : दर्ता नै नगरी अवैध उत्खनन गर्ने क्रसर बन्द

 जेठ २०, २०७६ सोमबार १३:५१:२९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – त्रिशूली नदी किनारमा ढुंगा गिटी उत्खननका विषयमा जनगुनासो बढेपछि चितवन जिल्ला समन्वय समितिले अनुगमन बढाएको छ । 

नदीजन्य पदार्थ उत्खननका लागि ठेक्कामा लगाइएका खोला क्षेत्र अनुगमन गर्दा जता हेर्यो उतै समस्या देखिएको छ । तोकिएको मापदण्ड विपरीत उत्खनन् गर्ने, जंगल क्षेत्रमा डम्पीङ्ग गर्ने, दर्ता नै नगरी क्रसर चलाउने जस्ता अवैध काम भएको पाइएको छ । 

गएको आइतबार जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले त्रिशूली नदीको किनार क्षेत्रको अवलोकन र अनुगमन गरेको थियो । अनुगमनको क्रममा टोलीले अन्धाधुन्ध डम्पीङ्ग गरिएको क्षेत्र फेला पारेको थियो । नारायणी नदीको बहाव नै परिवर्तन हुने गरी उत्खनन गरेको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो । 

मुग्लिन-नारायणगढ सडकखण्डको छेउभागबाटै त्रिशूली नदी किनारतर्फ ढुंगा गिटी जम्मा गरिँदै लगिएको छ । यद्दपि नदी, राजमार्ग आसपास क्षेत्रमा जम्मा गर्न नियमले पाइँदैन । अनुमति नै नलिइकन क्रसर उद्योगको संरचना बनाउन थालिएको भेटिएपछि तत्काल काम रोक्न निर्देशन दिएको समितिका प्रमुख डल्लाकोटीले बताउनुभयो ।

मुग्लिन-नारायणगढ सडक आयोजनाले प्रयोग गरेको क्रसरलाई आयोजना सकिएपछि पनि अहिले अर्को ठेकदारले प्रयोगमा ल्याइरहेका छन् । क्रसर उद्योगका लागि जम्मा गरिएको डम्पिङ बारे थप अनुसन्धानका लागि सम्बन्धित ठेकदारलाई बोलाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । ‘मनपरी कच्चा पदार्थ डम्पिङ गरिएको र दर्ता नै नगरी क्रसर उद्योगको संरचना बनाएको पाइएकोले सबै काम रोक्न लगाइएको छ,’ उहाँले भन्नुभयो । 

जुगेडीनजिक राजमार्गबाट त्रिशूली नदीतर्फ एउटा क्रसर उद्योग सञ्चालनमा रहेको छ । प्रहरीले भने सुरुमा त्यो क्रसर बन्द रहेको जानकारी दिएको थियो । स्थानीय प्रहरी प्रशासनले प्रमुख जिल्ला अधिकारी र अन्य अनुगमनकर्तालाई क्रसर बन्द रहेको गलत जानकारी दिएको कुरा पनि पत्ता लागेको छ । दर्ता नगरी सञ्चालन भैरहेको क्रसर उद्योग बन्द गरिएको छ । अनुगमन टोलीले त्यो  क्रसर उद्योगको गेटमै ताला लगाइदिएको छ । अनुगमन टोलीले जुगेडीको क्रसर उद्योगबाट दुई जनालाई नियन्त्रणमा पनि लिएको छ । ‘गलत काम गरेको र उल्टै प्रशासनसँग भनाभन गरी गलत जानकारी दिएको हुँदा उनीहरुलाई गिरफ्तार गरिएको हो,’ अनुगमनमा सहभागी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिनुभयो । 

त्रिशूली नदी अन्तर्गत ठिमूरा क्षेत्रमा भरतपुर महानगरले ठेक्का लगाएको हो । तोकिएको मापदण्ड विपरीत नदीको बहाव नै परिवर्तन हुने गरी उत्खनन् भैरहेको पाइएपछि दुई वटा एक्साभेटरको चाबी नियन्त्रणमा लिइएको छ । त्यस्तै त्रिशूली नदीमा उत्खनन गरिएको ठाउँबाट एक जनालाई गिरफ्तार गरिएको छ । यस अघि खगेडी, थाङ, स्याङदी र वुङ खोला अनुगमनका क्रममा पाँच जनालाई गिरफ्तार गरिएको थियो । प्रशासनले तीन फरक ठेकदारलाई डेढ लाख जरिवाना तिराएर आइतबार छाडेको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया