के हो डेङ्गु ? यसबाट कसरी बच्ने ?

 जेठ २१, २०७६ मंगलबार १४:५१:२० | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।  एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गुभएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ । 

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।

यसमा चार प्रकारका  डेङ्गु भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेङ्गुज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ  । 

डेङ्गुका लक्षणहरु 

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने,  रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ  । 

त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु  देखा पर्छन । 

शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ ।  साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । 

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।  शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।
 
अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ । 

यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ । 

डेङ्गुले निम्त्याउने जोखिम 

  • फोक्सोमा पानी जम्ने
  • पेटमा पानी जम्ने
  • रक्तश्राव हुने 
  • मृगौला ड्यामेज हुने 
  • एक पटक डेङ्गुभै सकेको मानिसमा धेरै जोखिम हुन्छ  । 

डेङ्गुबाट बच्ने उपाय 

  • लामखुट्टेको टोकाइबाट बच्नुपर्छ  । 
  • घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।  
  • घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
  • लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
  • झ्याल ढोकामा जाली राख्नु पर्छ । 
  • शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ । 
  • सरसफाइमा ध्यान दिनुपर्छ । 


–  विना न्यौपानेले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डाक्टर अनुप बास्तोलासँग गर्नुभएको कुराकानीमा आधारित 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया