‘लौन हजुर, मेरो घरमा लामखुट्टेको लार्भा छ कि छैन हेरिदिनु पर्‍याे’

 जेठ २४, २०७६ शुक्रबार २०:४७:९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – शुक्रबार बिहान ८ बजे प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रदेशका सभामुख प्रदिपकुमार भण्डारी  एक्कासि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पुगे ।

केही पत्रकार र केही  कर्मचारीसहित पुगेको टोलीमा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डी न्यौपानेसहितको टोली पनि सँगै नै थियो । त्यहाँ पुगेका मन्त्री र सभामुखले अस्पताल भर्ना हुन आएका  डेङ्गु प्रभावितको बारेमा जानकारी लिन थालेपछि  धरानमा देखिएको डेङ्गु प्रकोपको बारेमा डाक्टर तथा त्यस बारेमा अध्ययन गर्दै आएका विज्ञहरुले जानकारी दिन थाले ।

परिदृश्य १ : पत्रकार बाहिर पठाएर छलफल

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा सभामुख, मन्त्री, प्रहरी र मेयरसहितको टोलीले आन्तरिक छलफल गर्‍यो । त्यहाँ  प्रवेश गरेका पत्रकारहरुलाई हलमा गएर बस्न भनियो ।

पत्रकारहरु बाहिरिएपछि करिब १० मिनेट छलफल भयो  । छलफलको क्रममा धरानमा निक्कै ठूलो समस्या रहेको कुरा उठेको थियो ।  उपचारका लागि बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै ठाउँको अभाव रहेको  विषयमा  समेत छलफल भएको बताइएको  छ ।

परिदृश्य २ : ताजा जानकारी लिन उत्सुक खचाखच भिड

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी बैठक कक्ष खचाखच भरिएको थियो । त्यो बेलासम्म  उपकुलपतिको कार्यकक्षको बैठक पनि सकिएको थियो ।  मन्त्रीसहित सभामुख, मेयर, उपकुलपति र प्रहरी अधिकृतसहितको टोली हलभित्र प्रवेश गरिसकेको थियो । धरानमा केही दिनदेखि देखिएको डेङ्गुको बारेमा ताजा जानकारी लिनका लागि सबैजना उत्सुक थिए ।  

प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियारले  प्रतिष्ठानले एउटा ‘र्यापिड रेस्पोन्स टिम’ नै बनाएर काम थालेको जानकारी दिए । गएको वैशाख २९ गते एकजना बिरामी उपचारको लागि अस्पताल भर्ना भएकोमा   शुक्रबारसम्ममा दैनिक ३० जनाका दरले उपचार गराउन आउनेहरुमा डेङ्गुको संक्रमण देखिएको अस्पतालका डाक्टर विकास साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यसरी पछिल्लो ३ दिनमा  बिरामीको संख्याको घट्नुको ठाउँमा बढेको देखिएको छ, विगत ३ दिनदेखि एकै दरमा बिरामीहरु उपचारका लागि अस्पतालमा आएका छन्  ।  गत जेठ २० गते ३८ जना अस्पताल आएकोमा शुक्रबारसम्ममा १ सय ८८ जनामा डेङ्गु संक्रमित अस्पताल भर्ना भएका छन्  ।  

सामाजिक विकास समितिका टोलीले गरेको आकस्मिक निरीक्षणको क्रममा डेङ्गुको संक्रमण भएकालाई इमर्जेन्सीमा नराख्न निर्देशन दिएपछि  बिहीबारदेखि नै अस्पतालले बिरामीलाई ट्रपिकल वार्डमा सारिएको साहले जानकारी दिनुभयो ।   उपचार गर्न आएकामध्ये धेरैलाई उपचार गराउँदै घर फर्काइएको छ भने एकजनालाई आईसीयूका लागि अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।

धेरै बिरामी, ओपीडी र इमर्जेन्सीमा परीक्षणका लागि आउने गरेका छन् ।  ‘वार्निङ साइन’ भएका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने गरिएको छ । आएका बिरामीहरुमध्ये धेरै सामान्य उपचारपछि एक हप्ताभित्रै घर फर्किने गरेको डाक्टर रोशन क्षेत्रीले जानकारी दिनुभयो ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले  तत्काल समुदायलाई परिचालन गरेर सचेतना जगाउनुको विकल्प नहुने बताउनुभयो । डेङ्गुका चार किसिमका भाइरसको संक्रमणको रुपमा देखिने चिकित्सक बताउँछन्  । निर्देशक साहले डेन वान, डेन टु, डेन थ्री र डेन फोर  भाइरसहरु देखिने जानकारी दिनुभयो ।

पहिलो चरणमा डेन वानबाट संक्रमित बिरामीलाई दोस्रो चरणमा डेन टु भाइरसको डेङ्गु लागेमा त्यो भयानक हुने निर्देशक साहले बताउनुभयो ।  अस्पतालले अवस्था गम्भीर हुँदै जान थालेपछि सामाजिक विकास मन्त्रालयसँग २ वटा भेन्टिलेटर तत्काल उपलब्ध गराउन माग गरेको  छ ।

परिदृश्य ३ : धरानको समस्या पानी

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले पानीको अभावका कारण पानी जम्मा गर्ने प्रवृतिका कारण धरानमा डेङ्गु समस्याको रुपमा देखिएको बताउनुभयो । पानी राखे पनि सुरक्षित रुपमा लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर नराखिएको र त्यही पानीमा लामखुट्टेलाई फुल पार्न र बच्चा जन्माउन सजिलो हुने गरेको उहाँले जानकारी दिनुभयो ।

‘सबैको घरमा पानी जम्मा गरेर राखेका कारण सबैको घरमा लामखुट्टे जन्मिएको छ’, निर्देशक डोटेलले भन्नुभयो, ‘हरेक घरमा पसेर छतदेखि भुइँसम्मका पानी भएका ठाउँमा सफा गरेर लामखुट्टे र लार्भा नष्ट गर्नु पर्ने देखिन्छ ।’ उहाँका अनुसार, हरेकका घरका पानीमा लार्भा भेटिएको कारण अहिले समस्या थप जटिल बनेको छ ।

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले धरानमा मात्र एक वर्षमा २ पटक डेङ्गु महामारीको रुपमा देखिएको जानकारी दिनुभयो । ‘पानी नपर्ने सिजनमा यसरी डेङ्गुको संक्रमण देखिएको छ, नपर्दाको बेलामा कस्तो अवस्था आउने हो, चिन्ता लागेको छ’, उपमेयर भण्डारीले भन्नुभयो ।

सबै क्षेत्रमा अनुगमन गर्दा निक्कै नै समस्या परेको उपमेयर भण्डारीले जानकारी दिनुभयो । वर्षा लमग्दा अन्यत्र फैलिने हो भने यसको अवस्था भयावह हुनसक्ने पनि उहाँले बताउनुभयो । 

गएको कात्तिकमा देखा परेको डेङ्गुको संक्रमण वैशाखमा फेरि देखिनुको कारण औँल्याउँदै चिकित्सकलाई यस्तो अवस्थाको अनुसन्धान गर्न उहाँले आग्रह गर्नुभयो  ।  उपमेयर भण्डारीले तत्काल  औषधि छर्ने काम सुरु भएको र त्यसका लागि उपमहानगरले सबै जमाएर राखेका पानी हटाउने तथा पानीको व्यवस्थापन उपमहानगरले गर्ने बताउनुभयो । तत्काल कसरी बढी क्षति हुन नदिने भन्नेमा उपमहानगरपालिका लागि परेको जानकारी दिनुभयो  ।

प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिले तत्काल समस्या समाधान गर्नका लागि व्यापक जनचेतना जगाउनु पर्ने, गाउँ-गाउँमा शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षणको काम थाल्नु पर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले अवस्थाको बारेमा जानकारी लिनका लागि स्वास्थय निर्देशक भोगेन्द्र डोटेलसहितको टोली परिचालन गरिएको जानकारी दिनुभयो । मन्त्री घिमिरेले भेन्टिलेटरको अभाव भएको अस्पताललाई दुई सेट भेन्टिलेटर तत्काल मन्त्रालयले उपलब्ध गराउन निर्देशक डोटेललाई निर्देशन दिनुभयो ।

परिदृश्य ४ : अस्पतालको शय्यामा बिरामी

धरानमा एकै वर्ष दुई पटक डेङ्गुको संक्रमण देखिएपछि  सबैलाई चासो भएको छ ।  छलफल सकेका मन्त्री, सभामुख, उपमेयर, उपकुलपतिसहितको पत्रकारको टोली बिरामीको अवस्थाको बारेमा जानकारी लिन जाँदा बिरामीहरु उपचारमा थिए ।

केही उपचार गराएर फर्किएका थिए भने कोही भर्खरै भर्ना भएका थिए । अस्पताल भर्ना भएर उपचार गराइरहेकी धरान–१५, चेम्जोङटोलकी सिमा राई पनि डेङ्गुका कारण अस्पताल भर्ना हुनु भएको थियो ।

उहाँमा पनि डेङ्गुको संक्रमण देखिएको चिकित्सकले बताएको जानकारी दिनुभयो । उहाँको घरमा पनि ठूला ड्रम तथा ग्यालेन तथा भाँडाहरुमा थापिएको पानी खुल्लै राख्ने गरिएको थियो ।  पानी आउने/नआउने थाहै नहुँदा पानी थापेर राख्नु आफ्नो बाध्यता भएको उहाँले सुनाउनुभयो  । ३ दिनसम्म पनि पानी नआउने हुँदा हरेक ३ दिनमा पानी थालेर राख्ने गरेको उहाँको भनाइ छ ।   

परिदृश्य ५ : गाउँमा त्रास

अस्पतालमा बिरामी उपचारका लागि जाने क्रम रोकिएको छैन ।  बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम बढेपछि गाउँमा सचेतना जगाउने काम सुरु त भएको छ तर त्रास कायम छ । कतिबेला लामखुट्टेले टोक्ने हो र अस्पताल भर्ना भइने हो भन्ने समस्या उस्तै नै छ ।  गाउँमा पुगेका जो कोहीलाई पनि उनीहरु ‘मेरो घरमा पानी जमेको ठाउँमा डेङ्गु छ की छैन हेरिदिनु पर्यो’ भनिहाल्छन्  ।  

धरान–१५, खोरियाबस्तीकी बिमला राईका श्रीमानलाई डेङ्गुले एक हप्ता अस्पताल बसायो । अस्पतालले डिस्चार्ज दिएपछि घर त आए तर फेरि संक्रमण भयो भने के होला भन्ने त्रासमा उहाँ हुनुहुन्छ । बिमलाले त्यहाँ पुगेको मन्त्रीसहितको टोलीलाई ‘लुन हजुर मेरो घरमा लामखुट्टेको लार्भा छ कि छैन हेरिदिनु पर्यो’ भन्दै बोलाउनुभयो । तर मन्त्री घिमिरे आफूले नभएर प्राविधिक टोली आउने बताएपछि त्यहाँबाट उहाँ प्राविधिकलाई खोज्न थाल्नुभयो  । प्राविधिकले पानीमा लार्भा भएको बताएपछि उहाँ फेरि झस्किनुभयो । 

यस्तै समस्या अहिले धरान उपमहानगरपालिका वडा नम्बर ८ र १५ मा देखिएको छ । पानीमा लामखुट्टेका लार्भाबाट फैलिएको डेङ्गुको कारण गाउँमा संक्रमण फैलिँदै गएको छ । यसलाई रोकथाम गर्नको लागि धरान उपमहानगरपालिकासहित प्रदेश सरकार र संघीय सरकारको पनि चासो गएको भए पनि एक महिना बित्न लाग्दासमेत  अनुसन्धानमा मात्र सीमित भएको छ । यसका लागि तत्काल सचेतनाका कार्यक्रम र पानीलाई व्यवस्थित गर्ने काम अझै सुरु भएको छैन ।

सामाजिक समितिको निर्देशन

प्रदेश सभाको सामाजिक विकास समितिले डेङ्गु प्रभावित स्थलको अनुगमन गरेको छ ।  अनुगमनपछि सामाजिक विकास मन्त्रालयलाई तत्काल त्यसको नियन्त्रणमा लाग्न निर्देशन दिएको छ ।

डेङ्गु नियन्त्रणमा ल्याउन भैरहेको प्रयासहरुमा आवश्यक साधन र स्रोत उपलब्ध गराउन भनेको छ । सबै अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क गर्न आवश्यक व्यवस्था मिलाउनसमेत समितिल निर्देशन दिएको समितिकी सभापति  सरिता थापाले बताउनुभयो ।  

डेङ्गुको प्रकोप हाल धरान उपमहानगरपालिकाका अलावा रामधुनी, इटहरी र सुन्दर हरैचामा समेत केही बिरामीहरु देखा परेकाले अन्य क्षेत्रमा पनि फैलन सक्ने सम्भावना देखिएकाले सबै संयन्त्रका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको जानकारी सभापति थापाले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया