'प्रधानमन्त्री राेजगार कार्यक्रम' काे राैनक: बेराेजगारकाे दैनिकीमा परिवर्तन

 जेठ २६, २०७६ आइतबार १९:५:५५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – मालारानी गाउँपालिका-४, खनका ४० वर्षीया सीता विकको दैनिकी परिवर्तन भएको छ ।

‘अहिले बिहान उठेर घरको काम सकेर छोरा-छोरीलाई स्कुल पठाउँछु । र म पनि छोरा छोरीसँगै बेल्चा र दिउँसोको नास्ता बोकेर बाटो खन्न हिँड्छु,’ उहाँले भन्नुभयो । 

सिता जस्तै अन्य १ सय ७२ जनाको दैनिक कार्यतालिकामा परिर्वतन आएको छ । दिनभर घरमा खाली बस्ने समयको सदुपयोग भएको मालारानी गाउँपालिका-६ की शोभा सारुमगरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘कक्षा १२ को परीक्षा दिएर खाली बसेको थिएँ । दिनभर घरमा बस्नु पर्ने बाध्यता थियो । अहिले काम पाइएको छ, यसैमा खुशी छु ।’

अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तह मध्ये मालारानी गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू भएपछि स्थानीयहरु खुशी छन् । अहिले बेरोजगार व्यक्तिहरुको दैनिकीमा परिर्वतन भएको छ ।

मालारानी गाउँपालिकाका लागि यो आर्थिक वर्षका लागि ३८ लाख रुपैयाँ आएकोमा ९ लाख बराबरको औजार साम्रगी खरिद गरेको र अन्य रकम बाट ९ वटा वडामा योजना छनौट गरेर १ सय ७२ जनलाई काममा लगाइएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो । ‘९ वटा वडामा बाटो निर्माण गर्नको लागि जेष्ठ १५ गतेदेखि प्राविधिकबाट लागत आँकलन गरेर नाली निर्माण र सडक स्तरोन्नति गर्न लागेका छौँ ।’ उहाँले भन्नुभयो । 

निर्माणको काम राम्रोसँग भैरहेको मालारानी गाउँपालिका-४ का वडाध्यक्ष विष्णुप्रसाद पोख्रेलले बताउनुभयो । उहाँले भन्नुहुन्छ, ‘मेरो वडामा १४/१४ जनाको चार वटा समूह बनाएर काममा लगाएको छु । अहिले बाटो खन्ने काम भैरहेको छ । बाटो खन्ने काम सकिएपछि चार वटा पोखरी निर्माण गर्ने भनेर इस्टिमेट भएको छ । पुरुषभन्दा पनि महिलाहरुको आकर्षण छ । ज्याला दर कम भयो, अलि बढाउन पर्ने देखिन्छ ।’ 

अहिले एक जना कामदारले दिनमा ८ घण्टा काम गरेबापत ५ सय १७ रुपैयाँ पाउने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ का संयोजक महेश भुसालले जानकारी दिनुभयो । ‘एक जना कामदारलाई दिनमा ५ सय १७ रुपैयाँमा काम लगाउने निर्देशन अनुसार सम्झौता गरी परिचय पत्र वितरण गरेका छौँ ।

‘कामको अनुगमन गर्न एक जना सुपरभाइजर समेत नियुक्त गरेका छौँ ’, संयोजक भुसालले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया