पशुपतिनाथ मन्दिरमा हजारौँ किलो सुनचाँदी हुनुपर्ने हो

 जेठ २७, २०७६ सोमबार १०:३०:३ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - सरकारले गठन गरेको पशुपतिनाथ मन्दिरको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययन गरेर एउटा प्रतिवेदन तयार पारेको छ । २०१९ सालदेखि २०७५ सालसम्म अभिलेखित विवरणलाई आधार मान्दै तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको जग्गा तथा पशुपतिनाथ मन्दिरमा संकलन भएका सुनचाँदी तथा नगदका सम्बन्धमा उल्लेख छ । 

जसमा १८ हजार ३४२ रोपनी जग्गा रहेको र २३१ रोपनीभन्दा बढी जग्गा पशुपतिको नाममा आउन नसकेको उल्लेख छ । यस्तै पशुपति मन्दिरसँग नौ किलो सुन, ३१६ किलो चाँँदी र एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ नगद बैंकमा मौज्दात रहेको पनि प्रतिवेदनमा उल्लेख छ । तर सार्वजनिक प्रतिवेदनमा देखाइएको भन्दा धेरै नै पशुपतिको सम्पत्ति रहेको भन्दै कतिपयले प्रतिवेदनप्रति नै शंका व्यक्त गरेका छन् । खास पशुपतिनाथ मन्दिरको सम्पत्ति कहाँ कति छ त भनेर पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यसँग उज्यालोले गरेको कुराकानी । 

पशुपतिनाथको मन्दिरको सम्पत्ति भनेर बुधबार तथ्यांक बाहिर आयो । ठ्याक्कै त्यति नै हो त पशुपतिनाथको सम्पत्ति ?  

होइन अब यो प्रतिवेदन नै सतही र अपूरो छ । जुन किसिमको मेहनत गरेर एउटा गहकिलो दस्तावेजको रुपमा राष्ट्रलाई उपलब्ध गराउनु पर्ने थियो त्यो हुन सकेन । प्रतिवेदनमा जुन किसिमले पशुपतिनाथको सम्पत्ति देखाइएको छ, त्यो विश्वास गर्नै नसकिने खालको छ । पशुपतिनाथको सम्पत्ति सुन ९ किलो, चाँदी ३१६ किलो मात्रै होला त ? होइन नि । धेरै छ सम्पत्ति, तर ती सबै खुल्न सक्ने गरी प्रतिवेदन आएन । 

त्यसो भए प्रतिवेदन कसरी आउन पर्ने थियो त ?

१९०३ सालमा दासदासी मुक्त गर्ने बेला चन्द्र शमशेरले पशुपतिनाथमा जम्मा भएको ३ लाख ५२ हजार दाम सापटी लिएको उल्लेख छ । उनले दासदासीहरुलाई बाराको अमलेखगंजमा पुनस्र्थापना गर्न भनेर त्यो रकम प्रयोग गरेको भनेर त्यसबेला उनले देशवासीको नाममा दिएको सन्देशमा अझै पनि पढ्न सकिन्छ । तर त्यसबारेमा पशुपतिको भण्डार तहबिलमा त्यसको प्रमाण केही छैन । 

पशुपतिमा अहिले पनि २/३ किसिमको ढुकुटीको व्यवस्था छ । २०६८ मा पूजा व्यवस्था नियमावली आउनुअघि एक किसिमको ढुकुटीको व्यवस्था छ । त्यसलाई श्रीको ढुकुटी भन्ने गरिन्छ । त्यो महादेवको गर्वगृहभन्दा माथि छ । त्यो परापूर्व कालदेखि, लिच्छिवकालदेखि नै रहिआएको ढुकुटी हो ।

अब त्यो ढुकुटीमा के कति छ/छैन भन्ने कुरा त खोलेपछि थाहा होला । तर पछिल्लो पटक भने २००२ सालदेखिको त हामीसँग लिखित तथ्यांक नै छ । त्यो बीचमा एक वर्षको लगत छैन तर अनवरत रुपमा अन्य वर्षका लगतहरु सुरक्षित छ । तर अहिलेको प्रतिवेदनमा २०१९ सालदेखि यताको भनिएको छ । यो भनेको विश्वासिलो भएन । प्रतिवेदन बनाउनेहरुको मेहनत देखिएन । 

प्रतिवेदन कसरी ल्याएको भए विश्वासिलो हुन्थ्यो ? मेहनत गरेको जस्तो हुन्थ्यो ? 

२००२ सालभन्दा अघिको ऐतिहासिक ढुकुटीको कुरा त झनै बेग्लै छ । मेहनत गरेर यो प्रतिवेदन ३ फेज गरेर ल्याउनु पर्ने थियो । नियमावली लागू भइसकेपछिको व्यवस्थापनमा क्यास कति आयो, सुनचाँदी, पित्तल, स्टिल लगायतका भाडा वर्तन के कति छ भनेर प्रतिवेदन आउनुपर्ने थियो । 

२०६८ देखि २००२ सालसम्मको अर्को प्रतिवेदन आउनुपर्ने थियो । र त्यसपछि २००२ देखि अगाडिको बारेमा विस्तृत खोज गरेर प्रतिवेदन ल्याउन सक्नु पर्ने थियो । तर प्रतिवेदन सतही हुँदा र भएकै लिखतहरु पनि समेट्न नसक्दा विश्वसनिय हुन सकेन । बरु विवादित बन्यो । 

२१ औँ शताब्दी सुहाउँदो ढुकुटी व्यवस्थापन हुने गरी प्रतिवेदन आउनु पर्ने थियो । यो हुन सकेन । 

प्रतिवेदन नै अपूर्ण ल्याउने तथ्यांक नै लुकाउन खोज्ने गर्नुले पशुपतिनाथमा भक्तजनले आस्थाले चढाएको दानदक्षिणा पनि दूरुपयोग हुने रहेछ भन्ने आशंका  बढायो नि ? 

भक्तजनले चढाएको पैसा सदुपयोग भयो, भक्तजनले चढाएको पैसा उचित व्यवस्थापन भयो भने भक्तजनलाई अरु चढाउँ चढाउँ लाग्छ । तर त्यसको व्यवस्थापन गरेन, सदुपयोग गरेन अनि त्यो चढाएको दान दक्षिणा कर्मचारीको तलब, पेन्सन बढाउन मात्रै खर्च गर्यो भने भक्तजनको चित्त दुख्छ र जति चढाउने इच्छा हुन्थ्यो त्यति चढाउँदैनन् ।

यसो हुन नसक्दा  भक्तजनहरुमा आस्था हराउँदै जान सक्छ । अहिलेको प्रतिवेदन ठ्याक्कै त्यसै गरी अविश्वास बढाउने गरी आएको छ । यसलाई सच्याउनु पर्छ । तर त्यो  पैसा साँच्चिकै सदुपयोग हुने हो भने भक्तजनहरुमा अझ बढी विश्वास बढ्छ । तर अहिलेको प्रतिवेदन हेर्दा दान दक्षिणा व्यवस्थित भएको जस्तो देखिएन । 

तपाई पशुपति क्षेत्र विकाश कोषमा लामो समयसम्म कार्यरत रहनुभयो । दैनिक भक्तजनको भीड, अनि दैनिक भेटीको लगभग मूल्यांकन त होला नि तपाईलाई । त्यो अनुसार नै हेर्दा पनि सार्वजनिक भएको सम्पत्तिसँग तालमेल मिलेको जस्तो देख्नुहुन्छ ? 

९ किलो मात्रै सुन, ३१६ किलो मात्रै चाँदी भन्नु त्यो विश्वास गर्न लायक हो र ? होइन नि ।

कसैले विश्वास नै गर्दैन यो तथ्यांक त । २०१९ सालदेखि यताको मात्रै भनिए पनि यो विश्वास गर्ने खालको तथ्यांक होइन । 

कति हुनुपर्ने थियो अनुमानमा ?

पशुपतिनाथको सम्पत्ति यति ? कसैले विश्वास गर्छ ? विश्वास गर्न लायक छ र ? कसैले पनि विश्वास गर्छ होला भनेर मलाई लाग्दैन । मलाई लाग्छ हजारौँ किलो चाँदी हुनु पर्छ, सुन पनि त्यस्तै हुनु पर्छ । 

महादेवको बिहानदेखि साँझसम्म सिंगार गर्दाखेरी लगाउने गहना कति छ ? त्यसमा के कति छ ? त्यो यो लगतमा देखाइएको छ ?

दिनदिनै महादेवमा भान्सा चलाउने चाँदीको भाँडा मात्रै कति किलो त्यो पनि तथ्यांकमा उल्लेख छैन जस्तो लाग्छ । 

यसले यो प्रतिवेदन विश्वास गर्न नसक्ने खालको छ । यो सतही प्रतिवेदन हो । 

भगवानको नाममा चढाएको दाममा पनि यताउता हुन्छ है ?

मान्छे न हो । महादेवको पनि तीन नेत्र भन्छ । हुनसक्छ नि । त्यही भएर त  अख्तियार भन्ने आयोग राखिएको छ त । 

कसरी राख्ने गरिएको छ ढुकुटीमा सुनचाँदी ?

हुन त यो प्रतिवेदन नै सतही छ । २०६८ सालदेखि पशुपति नाथको श्रीको ढुकुटी अहिलेको २१ औँ शताब्दी सुहाउँदो व्यवस्थापन गर्ने प्रयास हामीले गरेका थियौँ । त्यहाँका भट्ट, भण्डारीलाई सुविधा, सहुलियत, तलब व्यवस्थित गरायौँ अनि त्याहाँ चढाउने भेटी सबै बैंकमा राख्ने सुरुवात गरेका थियौँ ।

यस्तै सुनचाँदीलाई व्यवस्थित गरेर ढुकुटीमा राख्ने र त्यसलाई बैंकको लकरमा राख्ने व्यवस्था मिलाएका थियौँ । तर अहिले त्यो व्यवस्थालाई पनि निरन्तरता दिइएको छैन । 

विशेषगरी पशुपतिमा चढाउने भनेको, सुनको बेलपत्र, सुनको त्रिशूल, सुनको डमरु, सुनको शंख, सुनको खराउ, अनि चाँदीको पनि त्यस्तै हो । महादेवलाई मन पर्ने कुरा चढाउने हो । 

चढाएका यस्ता दानहरु महिना महिनामा संकलन गरेर पोको पारेर राख्ने गरिन्छ । अनि सर्जमिनमा भने सुन जस्तो पहेँलो धातु, अनि चाँदी जस्तो सेतो धातु भनेर लेख्ने गरिएको छ । 

यसरी तथ्यांक राख्नुको पछाडि दुरुपयोग गर्न सजिलो हुन्छ भन्ने भएर हो ? 

चाँदी भए चाँदी, सुन भए सुन भनेर किटेरै लेख्नु पर्यो नि । त्यसको परिणाम कति हो त्यो पनि लेख्नु पर्यो । तर त्यस्तो छैन । त्यो सुन र चाँदी त २१ औँ शताब्दी सुहाउँदो ढुकुटीको मोडलमा लैजानु पर्यो नि । के कति परिणाम हो त्यसको किटान गरेर बैंकको लकरमा राख्ने व्यवस्था चुस्त हुनु पर्छ नि । हामी आफ्नो एक तोला सुन भए पनि सुरक्षित गर्न बैंकको लकरमा  राख्न पुग्छौँ तर श्रीको ढुकुटी अव्यवस्थित गर्ने ? यो त उचित होइन नि ।  

तर पशुपति क्षेत्र विकास कोषले त्यति सजिलै पनि दुरुपयोग गर्ने अवस्था चाहिँ छैन । किनभने श्रीको ढुकुटीको साँचो कोषसँग हुँदैन । साँचो गुठी संस्थानसँग रहन्छ । लाहाछाप लगाएर राखिएको हुन्छ ढुकुटी । वर्षको एक दिन बालाचतुर्दशीका दिन मात्रै त्यो खोल्ने गरिन्छ । त्यो खोल्ने बेला ३ वटा अड्डाको रोहबर अनिवार्य चाहिन्छ । अनि त्यो ढुकुटीमा एक जना मूल भण्डारी मात्रै जान पाउँछ । अरु कोही जान पाउँदैन ।

ढुकुटीमा राखेर आएपछि पनि उसले मैले केही लिएर आएको छैन है भनेर देखाउनु पर्छ । यसरी हेर्दा श्रीको ढुकुटी दुरुपयोग गर्न कोषले सक्दैन । तर व्यवस्थापन भद्रगोल गर्दा बेफाइदा चाहिँ भएको हो । 

२०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा नै नरहेको भनेर प्रतिवेदनमा उल्लेख गरिएको छ । तपाई कोषाध्यक्ष हुने बेलामा तपाईले हेर्नुभएन ?  

प्रतिवेदन अहिले जसले तयार पार्यो उसले मेहनत नगर्दा यस्तो देखिएको हो । इतिहासकार तथा संस्कृतविद, पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव एवं पूर्व कोषाध्यक्ष गोविन्द टण्डनले लेखेको किताबमा २००२ सालदेखिको लगत छ ।

कुन सालमा कति सुन चाँदी दाखिला ढुकुटीमा दाखिला गर्यो भन्ने सबै लगत छ । प्रतिवेदन लेख्नेले नै तथ्यांकहरु संकलन गर्न सकेन । २००२ सालको श्रीको ढुकुटीको बारेमा झनै उहाँहरुलाई जानकारी छैन होला । मेरो पालामा धेरै काम भएको छ । हामीले नै २१ औँ शताब्दी सुहाउँदो ढुकुटी व्यवस्थापन सुरु गरेका हौँ । 

हामीले श्रीको ढुकुटी व्यवस्थित गर्न भनेर ढुकुटी खोलेर सबै लगत लिन खोजेका थियौँ । तर त्यतिबेला त्यो निर्णयको विरुद्धमा अधिवक्ता भरतमणि जंगम सर्वोच्च अदालत गए । तत्कालिन न्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले ढुकुटी नखोल्न आदेश दियो । सर्वोच्चले नरोकेको भए अहिलेसम्म त्यहाँ के छ के छैन भन्ने कौतुहलता हुँदैन थियो प्रष्ट लगत बाहिर आउने थियो । 

ढुकुटीमा संसारमै नपाइने दुर्लभ हीरा (कोहीनुर हीरा) समेत छ । हीराको अध्ययन गर्न बेलायतबाट विज्ञ टोलीसमेत आएको थियो भनेर त्यस बेलाका विषेद नाइके कृष्णमान श्रेष्ठले भनेको कुरा हो । यद्यपी यसको आधिकारीक तथ्यांक भने छैन ।  

अधुरो प्रतिवेदन भनेर तपाईले नै भनिसक्नु भएको छ ? यसरी अधुरो प्रतिवेदन ल्याएर विवादित बनाउने काम भएन र ? 

यसमा एउटा सकारात्मक पक्ष पनि छ । यसले देशलाई झक्झाइदिएको छ । पोखरीमा ठूलो भए पनि सानो भए पनि ढुंगाले हिर्काइदियो । अब यसलाई बहसको विषय बनाऔँ । अनि यो प्रतिवेदनलाई सञ्चालक परिषदले कसरी लिन्छ भन्ने हो । यो त कार्यदलले दिएको प्रतिवेदन मात्रै हो । अब राष्ट्रले उच्चस्तरीय श्रीको ढुकुटी व्यवस्थापन गर्ने कार्यदल बनाउनु पर्ने देखिएको छ । 

श्रीको ढुकुटी २१ औँ सताब्दी सुहाउँदो व्यवस्थापन गर्ने । श्रीको ढुकुटी खोल्ने, लगत राख्ने अनि अमूल्य–अमूल्य चिजलाई पशुपतिकै प्राङ्गणमा संग्राहलय बनाएर राख्ने काम हुनु पर्छ । 

पशुपतिनाथको ढुकुटीमा छ/छ त भनिएको छ । तर वास्तवमै के छ भन्ने कुरा संसारले थाहा पाओस् न त्यो हामीले खोजेको हो । हाम्रो समयमा इच्छा गरेर पनि सर्वोच्चका कारण हुन सकेन तर अहिलेको समूहलाई त्यो काम गरेर देखाउने मौका छ । त्यो गरेर देखाउन सक्नु पर्छ । 

१८ हजार रोपनी भन्दाबढी जग्गा पशुपतिनाथको नाममा रहेको भन्ने तथ्यांक छ । त्यसमध्ये २ सयभन्दा बढी रोपनी जग्गा अझै पशुपतिको नाममा आउन नसकेको पनि भनिएको छ । कहाँ गयो त जग्गाहरु ? यो मात्रै हराएको हो कि अरुतिर पनि यस्तै अव्यवस्था देख्नुहुन्छ ?

भण्डार तहबिलको ४ हजार ८ सय ५ रोपनी, अमालकोट कचहरीको १ हजार ४ सय ९९ रोपनी र जयवागेश्वरीको ५ सय ११ रोपनी जग्गा लगतमा देखिएको जग्गा हो । तर पशुपतिनाथको जमिन त १८ हजार पुगेको प्रतिवेदन ले नै देखाएको छ ।

पशुपतिनाथले गुरुयोजना लागू गर्ने बेला अधिग्रहण गरेको जग्गा र मूल भट्ट बाजे तालुकी भएको समयमा दर्ता नभएको पाटी, सार्वजनिक जग्गा, ऐलानी, पर्ति जग्गा पनि उहाँले पशुपतिको नाममा दर्ता गरिदिनुभयो । त्यसकारण जग्गा बढेको देखिन्छ । तर लगतमा भएको जग्गामध्ये चन्द्रशमशेर, रघुवीर वैद्यको नाममा भएको जग्गा हराएको भन्ने कुरा छ त्यो भनेको अनुसन्धानको पाटो हो । 

हुन त केही जग्गा बाटो बनाउँदा गयो होला, केही जग्गा अरुको नाममा गयो होला, केही जग्गा अरुको पनि पशुपतिनाथकोमा आयो होला । तर जग्गा घटेको, हराएको छैन । तै पनि अब भनेको २१ औँ शताब्दी सुहाउँदो तथ्यांक राख्नु जरुरी छ । 

पशुपतिनाथको ढुकुटी कसरी व्यवस्थित बनाउने त ?

सही ठाउँमा सही मान्छे नहुँदा अवस्था यस्तो भएको हो । भेटी पारदर्शी गर्ने, सुनचाँदीका लगत व्यवस्थित गर्ने काम हुनु पर्छ । यो हाम्रो पालामा हामी आएपछि गरेका थियौँ । तर अहिले फेरि उही अव्यवस्था छ । अरु केही चाहिँदैन भेटीको तथ्यांक पारदर्शी बनाउने काम भए मात्रै सबै कुरा व्यवस्थित हुन्छ । त्यो काम अहिलेको नेतृत्वले गर्ने हिम्मत गर्नुपर्छ । 

तर अहिलेको नेतृत्व त ‘पावर इञ्जोय’ गर्न गएको जस्तो व्यवहार देखाएको छ । सुख सुविधा, आलिसान बंगलामा बस्न खोजेको देखिन्छ । कोषको कार्यालय वरपर हेर्नुभयो भने मोटरै मोटर देखिन्छ । तडक भडक देखिन्छ । 

काम गर्न गएको भए यस्तो फितलो प्रतिवेदन आउथ्यो र ? गहन रुपमा आउने थियो नि । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया