भनसुन र चिनजानकाे आधारमा घर निर्माण भइरहेको बाराका हावाहुरी पीडितकाे आरोप

 जेठ ३०, २०७६ बिहिबार २०:३९:३८ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराका हावाहुरी पीडितहरुले भनसुनको आधारमा सरकारले घर निर्माण गरिरहेको आरोप लगाएका छन् ।

कलैयामा बिहीबार पत्रकार सम्मेलन गरी उनीहरूले  स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले क्षतिको संकलनका क्रममा थुप्रै वास्तविक पीडितहरुको नाम छुटाएको आरोप लगाएका छन्। उनीहरुले आफूहरुलाई बस्ने ठाउँ नभए पनि सरकारले आफूहरुको घर निर्माणको सूचीमा नाम समावेश नगरेको आरोप लगाए।

सुवर्ण गाउँपालिका ­-­४ का स्थानीयवासीले कलैयामा पत्रकार सम्मेलन गरि वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासन कार्यालयले वास्तविक करिब एक सय पिडितहरुको नाम पीडितको सूचीमा नराखेको आरोप लगाएका हुन् । वडाध्यक्ष ढोलेन्दर यादव र गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले आफ्ना नजिकका व्यक्तिहरु पीडित नभए पनि पिडितको सूचीमा नाम समावेश गराएर घर निर्माण गराइरहेको सुवर्ण गाउँपालिका-४ की प्रभावती देवीले आरोप लगाउनु भयो।

प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गर्दा स्थानीय तहले उपलब्ध गराएको सूचीलाई नै आफूहरुले आधार मानेर घर निर्माणको काम अगाडि बढाएको बताएर गाउँपालिकामा नै जान सुझाव दिएकाे अर्की पीडित शान्तिदेवी यादवले दुखेसो व्यक्त गर्नुभयो ।

हर्दियाका झण्डै एक सय हावाहुरी पीडितहरुको नाम सरकारले घर निर्माण गरिरहेको सूचीमा समावेश नभएको हर्दियाकी पीडित शैल देवीले बताउनु भयो ।

हर्दियाका पीडितहरुले बिहीबार दिउँसो केही बेर जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । वडाध्यक्ष र गाउँपालिका अध्यक्षको नजिक नभएकै कारण हुरीले आफ्नो घर भत्काए पनि पीडितको सूचीमा नाम समावेश हुन नसकेको पीडितहरुले गुनासाे गरे।

सरकारले नेपाली सेनामार्फत हावाहुरी पीडितहरुको घर धमाधम निर्माण गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले कुनै पनि पीडितको नाम नछुटेको दावी गर्नुभयो। उहाँले स्थानीय स्तरमा घर निर्माण खटिएको नेपाली सेनाको प्रमुख, प्रहरी चौकी इन्चार्ज र वडाध्यक्ष तीन सदस्यीय समितिले कोही पीडितको घर निर्माणका लागि नाम छुटेको सिफारिस गरेमा त्यो सूची सरकारलाई सिफारिस गरेर पठाउने पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया