फुपू-भदैनीको  घर झगडा : गाउँपालिका अध्यक्षसहितको टोलीले गरे दुवै जनालाई घर निकाला

 असार २, २०७६ सोमबार १८:२९:३१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कम्मायक गाउँपालिका-४ रानीगाउमा एकै घरमा बस्दै आइरहेका फूपु-भदैनी पर्ने दुई जनालाई गाउँपालिका अध्यक्षसहितको टोलीले घर निकाला गरेकाे छ ।

सार्वजनिक जग्गामा घर बनाएर बसेका गीतामाया सम्बाहाम्फे र विष्णुमाया लिम्बूलाई गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहित प्रहरीको टोलीले घर निकाला गरेकाे हाे । 

गाउँपालिका अध्यक्ष चेम्जोङका अनुसार, सार्वजनिक जग्गामा निर्माण भएको घर गीतामायाले बनाएकी हुन् । नातामा घर निकाला गरिएका गीतामाया भदैनी र विष्णुमाया फुपू पर्छन् । 

गीतामायाको श्रीमानको केही वर्ष अघि नै मृत्यु भैसकेको हो । श्रीमानको मृत्युपछि विष्णुमाया पनि भदैनीसँग बस्न थालिन् । पछि घरकै विषय र  आर्थिक लेनदेनको विषयलाई लिएर दुई जनामा मनमुटाव हुन थाल्यो । 

विष्णुमायाले भदैनी गीताले बनाएको घर आफ्नो बनाउन खोजेपछि दुई जनामा झगडा हुन थाल्यो र उनीहरुलाई सार्वजनिक जग्गामा निर्माण गरिएको घरबाट निकाला गरी घरमा ताला लगाइएको हो । 

समाजमै खलल पुग्ने गरी झगडा गर्ने  र गाउँपालिकाको न्यायिक समितिले पटक-पटक  मिलापत्र गराउँदा पनि दुई जनामा झगडा गर्ने क्रम नरोकिएपछि घर निकाला गर्नुपरेको अध्यक्ष चेम्जोङले बताउनुभयो । सार्वजनिक स्थानमा पाँच/छ वर्षअघि घर निर्माण गरिएको बताइएको छ । 

घर खाली गर्न पटक-पटक सूचना गर्दा पनि अटेर गरेपछि प्रहरीको सहयोग लिएर निकाला गर्नु परेको चेम्जोङले बताउनुभयो । घरबाट निकालिएकी विष्णुमायाले भने आफू बसिआएको घरबाट गाउँपालिकाको टोली आएर जबर्जस्ती निकालेको आरोप लगाएकी छिन् । 

घरबाट निकालिएपछि उनी न्याय खोज्दै सदरमुकाम फिदिम आएकी छिन् । शुक्रबार बिहान खाना खान लागेको बेला अध्यक्षको टोली आएर बाहिर निस्क, घर छाड भन्दै हप्काएर आफूलाई बाहिर निकालेको र त्यसपछि घरभित्रका सामान फालिदिएको आरोप लगाएकी छिन् । 

फुपू-भदैनीको बीचमा आर्थिक पाटोको विवाद रहेको र न्यायिक समितिले मिलाउन नसक्ने भएपछि जिल्ला अदालतमा मुद्दा हालेको विष्णुमायाले बताइन् ।त्यसपछि जग्गा लेनदेनकै विषयमा न्यायिक समितिले आफूलाई घर छाड्न ३५ दिने म्याद दिएर चिठी पठाएको उनको भनाइ छ । 

भदैनी गीताले पनि आफ्नो श्रीमानको निधनपछि फुपू विष्णुमायाले आफूलाई संरक्षण गर्ने बहाना बनाएर आफ्नो धन-सम्पत्ति हात पार्न खोजेको आरोप लगाएकी छिन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया