विश्वकप क्वार्टरफाइनल : एमबाप्प्पेको गति रोक्ने दाउमा उरुग्वे

 असार २२, २०७५ शुक्रबार ८:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकपका ५६ खेल सकिँदा अब क्वार्टरफाइनलका चार, सेमिफाइनलका दुई तथा फाइनल र तेस्रो स्थानको प्लेअफ गरी आठ खेलमात्र बाँकी छन् । क्वार्टर फाइनलमा पुग्ने आठ टिममा ६ वटा युरोप र दुईवटा दक्षिण अमेरिकाका टिम छन् ।

क्वार्टर फाइनलमा आज साँझ दुई पटकको च्याम्पियन उरुग्वे र दोस्रो उपाधि जित्ने दाउमा रहेको फ्रान्स आमने–सामने हुँदैछन् । सात गोलको शनसनीमा अर्जेन्टिनालाई हराएपछि फ्रान्सले पोर्चुगललाई २–१ ले हराएको उरुग्वेसँगको भिडन्त पक्का गरेको हो । दक्षिण अमेरिकी प्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएर क्वार्टरफाइनल पुगेको फ्रान्सले लगत्तै अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाएको छ । फ्रान्स र उरुग्वेबीचको खेल नेपाली समयअनुसार पौने आठ बजे निज्नी नोभ्गोरोड रंगशालामा हुनेछ ।

आफ्नो समूहमा विजेताका रुपमा दुवै टोली निकै राम्रो फर्ममा छन् । उरुग्वेका मिडफिल्डर डिएगो लाक्साल्टले आफ्नो टिम फ्रान्सका युवा हतियार केलियान एमबाप्पेलाइ रोक्न सक्नेमा विश्वस्त छन् । तर फ्रान्समा एमबाप्पेसँग एन्ट्वान ग्रिजम्यान, ओलिभर जिरुड र एंगोलो कान्टे जस्ता खेलाडी पनि जसलाई रोक्नका लागि उरुग्वे तयार छ ।

एमबाप्पेले अर्जेन्टिनालाई ४–३ ले हराउँदा दुई गोल गरेका थिए, जसका कारण डिडियर डेसच्याम्पको टोलीले पछिल्लो चार विश्वकपमा तेस्रो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

उरुग्वेविरुद्ध खेलेको आठ खेलमा एकमा मात्र जित निकाल्न सकेको फ्रान्स १९ वर्षीय युवा स्ट्राइकरको प्रदर्शनका कारण ओस्कार टाबारेजको रणनीतिविरुद्ध जित निकाल्ने विश्वासमा छ ।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनलिस्ट फ्रान्स पछिल्लो नौ खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध अपराजित छ । अर्जेन्टिनाविरुद्धको खेलमा फ्रान्सले आफ्नो शक्तिको प्रदर्शन गरेको थियो ।

मुख्य हतियार इडिन्सन कभानीको इन्ज्युरीले उरुग्वेका प्रशिक्षक टाबारेजलाई चिन्ता लागेको छ । तर पछिल्लो सात खेलमा शतप्रतिशत नतिजा हात पार्दा एक गोलमात्र खाएको उरुग्वेका गोलकिपर फर्नाण्डो मुस्लेरालाई बिट गर्न भने फ्रान्सका अग्रपंक्तिका खेलाडीलाई मुस्किल पर्नेछ । लाक्साल्टले खेलको आधा समयमात्र पनि कभानी र स्वारेज सँगै खेल्न पाएको खण्डमा फ्रान्सलाई सहजै पाखा लगाउने बताउँछन् ।

‘उनीहरुको फरवार्डहरु उत्कृष्ट भएकाले हामीले डिफेन्समा जोड दिनेछौं ।’ लाक्साल्टले भने, ‘हामीले समूह चरण र पोचुगलविरुद्धको प्रिक्वार्टर फाइनलमा खेलेको जस्तै रक्षात्मक उत्कृष्टता जारी राख्नु पर्छ । एमबाप्पेलाई सकेसम्म कम ‘स्पेस’ दियौं भने अघिल्ला खेलमा जस्तै विपक्षीलाई निकै कठिन हुनेछ ।’

फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीले पीएसजीमा सँगै खेल्ने साथी काभानी फ्रान्सविरुद्ध खेल्न नसक्ने अपेक्षामा छन् । तर पनि उरुग्वे टिमलाई कम आँक्ने गल्ति नगर्ने प्रतिक्रिया दिन्छन् ।

तर दुईवटा पहेँलो कार्डका कारण उरुग्वेविरुद्धको खेल खेल्न नपाउने ब्लेसले भने, ‘मैले लामो समयदेखि कभानीलाई चिनेको हुँ । उनी अन्तिम समयसम्म पनि हार नमान्ने मेहनति खेलाडी हुन् । उनी खेलमा अन्तिमसम्म पनि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन् ।’

‘तर कभानी विनाको उरुग्वे अघिल्लो खेलको जस्तो हुनेछैन । तर उनलाई प्रतिस्थापन गर्नका लागि वैकल्पिक खेलाडी पनि क्षमतावान छन् ।’ ब्लेसले भने ।

फ्रान्सले अर्जेन्टिनालाई हरायो । तर दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वे भेट्रान डिफेन्डर डिएगो गोडिन र युवा डिफेन्डर जोसे जिमिनेजलाई परास्त गर्न फ्रान्सलाई कठिन हुनेछ । गोलकिपर फर्नाण्डो मुस्लेरा उरुग्वेका उत्कृष्ट गोलकिपर हुन्, जसले पछिल्लो चार खेलमा एकमात्र गोल खाएका छन् ।

उरुग्वे काउन्टर एट्याकमा पनि उत्तिकै बलियो छ । डिफेन्डर र अग्रपंक्तिका लुइस स्वारेजको कम्बिनेसनमा टिम जतिखेर पनि काउन्टर एट्याक गर्न सक्षम छ ।

म्याच फ्याक्ट्स
–सन् २०१० पछि उरुग्वे पहिलो पटक क्वार्टर फाइनल खेल्दैछ ।

–फ्रान्सले पछिल्लो पाँचमध्ये चार विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ ।

–कालियन एमबाप्पेले यो विश्वकपमा हानेको पाँचैवटा सट टार्गेटमा लागेको थियो, जसमा तीनवटा सट गोलमा परिणत भएको छ ।

–एन्ट्वान ग्रिजम्यानले मुख्य प्रतियोगिता (विश्वकप र युरोपियन च्याम्पियनसिप) को नकआउट चरणमा ६ गोल गरेका छन् ।

–उरुग्वेको पछिल्लो तीन गोल इडिन्सन कभानीले गरेका हुन् ।

–हेड टू हेडमा उरुग्वे अघि छ । खेलेको कुल आठ खेलमा उरुग्वेले एउटामात्र खेल गुमाएको छ । विश्वकपमा यी दुई टोली तीन पटक खेलेका छन् । जसमा दुई खेल बराबरी भएको थियो भने एक खेलमा उरुग्वे विजयी भयो ।

–पछिल्लो पटक यी दुई टोली सन् २०१३ मा मैत्रिपूर्ण खेलमा आमने सामने भएका थिए । उरुग्वे १–० ले विजयी हुँदा लुइस स्वारेजले गोल गरेका थिए ।

प्लेयर्स टू वाच

डिएगो लाक्साल्ट–उरुग्वे

लाक्साल्ट उरुग्वे टिमका एक स्टार हुन जसको चर्चा तुलनात्मक रुपमा कम छ । विषेशगरी पोर्चुगलविरुद्धको खेलमा लाक्साल्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पोर्चुगलको नौवटा सट बचाएका थिए । जुन कुनै पनि उरुग्वेका खेलाडीभन्दा बढी हो । आज फ्रान्सका स्ट्राइकर एमबाप्पेलाई राइट विङ्गमा रोक्नका लागि लाक्साल्टको मूपमका निकै महत्वपूर्ण हुनेछ ।

केलियन एमबाप्पे–फ्रान्स
एमबाप्पले अर्जेन्टिनालाई ध्वस्त गरे भन्दा गलत नहोला । उनको दुई गोलमा फ्रान्सले अर्जेन्टिनालाई पाखा लगाएको थियो । फ्रान्सका मुख्य हतियार एमबाप्पे डिएगो गोडिनको नेतृत्वमा रहेको उरुग्वेको डिफेन्सको टाउको दुखाईको विषय बन्न सक्नेछन् । फ्रान्सका लागि उनले २० खेलमा ६ गोल गरिसकेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया