विप्लव छिट्टै मूलधारको राजनीतिमा फर्किने तयारीमा छन् : अध्यक्ष प्रचण्ड

 असार १०, २०७६ मंगलबार १८:३७:११ | राधेश्याम खतिवडा
unn.prixa.net

तस्बिर - रासस

चितवन – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले नेत्र विक्रमचन्द ‘विप्लव’ मूल धारको राजनीतिमा आउने बताउनुभएको छ । 

भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै आफूले पाएको जानकारीअनुसार विप्लव छिट्टै मूलधारमा फर्किने तयारीमा रहेको बताउनुभयो । 

दुई चार वटा बम पड्किँदैमा समृद्धिको यात्रा विथोलिन्छ कि भन्ने शंका नगर्न आग्रह गर्दै प्रचण्डले देशको सबै अवस्था विप्लवले बुझिसकेकाले अब यस्ता गतिविधि धेरै नगरी शान्तिको बाटोमा आउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । 

शान्ति प्रक्रियामा आउँदा पार्टीका सबै नेताहरुलाई काठमाण्डौमा सुरक्षित अवतरण गराएको स्मरण गदै अध्यक्ष प्रचण्डले विगतमा पार्टी फुटाएर गएकाहरु फर्किँदै आइरहेका र  विप्लव पनि त्यसरी नै आउने दाबी गर्नुभयो । 

फरक प्रसंगमा उहाँले चितवनमा जसरी भए पनि अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएरै छाड्ने बताउनुभएको छ । रंगशाला राष्ट्रको आवश्यकता भएको उल्लेख गर्दै उहाँले केन्द्रीय सरकारको नीति तथा कार्यक्रममा पनि परेकोले यो रंगशाला निर्माणमा कुनै अवरोध हुन नपुगेको र निर्माणका लागि नपुगेको वजेट सरकारले व्यवस्था गर्ने बताउनुभयो । 

रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई अप्ठेरो परेमा यसको जिम्मा सरकारले लिने बताउँदै उहाँले भरतपुर महानगरले प्रत्येक वडाबाट ५ लाख र महानगरले मात्र ५ करोड गरी कुल ६ करोड ४५ लाख दिने नगरसभाबाट घोषणा हुनु सकारात्मक भएको बताउनुभयो । 

महानगरको समृद्धि र चितवनकै समृद्धिसँग जोडिएको नारायणी नदीमाथि ४ वटा मोटर पुल र चितवनमा ग्यास पाइपलाइन भण्डारणको काम अघि बढेको प्रचण्डले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया