पुस्तक चर्चा : ‘टाँकीका फूलहरु’  डलर कमाउन जानेको कथा

 असार १२, २०७६ बिहिबार १३:३४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – संखुवासभाको सदरमुकाम खाँदबारीको वरुण बहुमुखी क्याम्पसको सभाहलमा बुधबार ‘टाँकीका फूलहरु’ कथा संग्रहको चर्चा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।
    

    लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टाँकी ।
    वरूण क्याम्पस खाँदबारीमा फूलै–फूलको झाँकी ।।

मकालु साहित्य समाजका अध्यक्ष तथा साहित्यकार ताराबहादुर बुढाथोकीले दुई लाइन गजलका सेरसगै कार्यक्रमको सुरुवात गर्नुभयो । केही समय अगाडि प्रकाशन भएको संखुवासभाकै मादी नगरपालिकामा जन्मिनु भएका कथाकार दाजु गुरुङको ‘टाँकीका फूलहरु’ कथा संग्रहको चर्चा परिचर्चा कार्यक्रम भएको हो ।

लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका कथाकार दाजु गुरुङले नेपालको डाँडापाखा, कन्दरा र गाउँघरका जीवन भोगाइदेिख उडिरहेको भँगेरा झर्ने गरी गर्मी हुने हङकङका जीवन भोगाइहरुलाई कथाको रुपमा पुस्तक बनाएर प्रकाशन गर्नुभएको छ ।

एक समय यही वरुण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेतका जिम्मेवारी सम्हालेका बौद्धिक व्यक्तित्व दाजु गुरुङ आर्थिक रुपमा सबल बन्नैका लागि हङकङ छिरेको पुस्तकमार्फत सुनाउनुहुन्छ । ‘टाँकीका फूलहरु’ विदेशमा डलर कमाउने जानेहरुको कथा हो भन्दा फरक पर्दैन ।

कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका नेपाली भाषा साहित्यका उपप्राध्यापक उद्धव कटुवालले ‘टाँकी फूलहरु’ विभिन्न स्वाद लिनेको भोजन भएको टिप्पणी गर्नुभयो । नेपालका ग्रामीण दूरदराजका गाउँबस्तीहरुबाट प्रवास हङकङमा पुगेर त्यहाँ गरिने दुःख, मेहनत र परिश्रमका कथाहरु सिलसिलेवार रुपमा समेटिएको बताउनुभयो ।

कार्यक्रममा अर्का वक्ता तथा टिप्पणीकार साहित्यकर्मी तथा पत्रकार नवीन गुरुङले ‘टाँकी फूलहरु’ आम मानिसको सपना, लक्ष्य, जीवन भोगाइहरुको अनुभूति भएको बताउनुभयो । उहाँले छोटो समयमा नै पुस्तकको तेस्रो संस्करण बजारमा आउनुले पुस्तकको पाठक बढेको बताउनुभयो ।

त्यसैगरी अर्का वक्ता तथा टिप्पणीकार उपप्राध्यापक लक्ष्मी ढुङ्गानाले नेपालमा नै केही गर्ने उद्धेश्य बोकेका दाजु गुरुङ बाध्यताले विदेशिनु परेको र त्यही कथाहरु पुस्तकको रुपमा आएको बताउनुभयो । उहाँले दाजु गुरुङको लेखनयात्रा डायस्पोरामा निकै चर्चा बढेको बताउनुभयो । ‘कथाकार गुरुङको कथाहरु सरल छन, जो सुकैले पढ्दा सरल तरिकाले बुझन सकिन्छ । यही लेखनको उहाँको गहनता हो’, ढुङ्गानाले भन्नुभयो ।

प्रगतिशील लेखक संघका जिल्ला अध्यक्ष तथा उपप्राध्यापक राजेन्द्र सर्वहाराले कथामा धेरै जति म पात्रको प्रयोग गरिएको र आफ्ना अनुभवहरुलाई सरल तरिकाले कथाको रुपमा प्रस्तुत गरिएको बताउनुभयो । उहाँले नेपालबाट हङकङ जान मरिमेट्ने, हङकङ आईडी बनाउँदा भोग्नु पर्ने दुःख, १८ घण्टासम्मको ड्यूटीका कारण श्रीमान–श्रीमतीबीचको शंका आशंका, पारिवारिक समस्याहरु, बुबाआमाको कामका कारण छोराछोरीहरु दुर्व्यसनी बन्ने, कुलतमा फस्ने र नेपालबाट घरेलु कामदारको रुपमा हङकङ जाने चेलीहरु आफ्नो उमेरको ख्यालै नगरी उमेर ढल्केका बुढोहरुसँग विवाह गर्ने त्यसपछिका धोका र विभिन्न समस्यालगायतका कुराहरुलाई कथाको रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

‘टाँकीका फूलहरु’ कथा संग्रहमा प्रशस्त मात्रामा रोमाञ्चक कथा, हस्यौली र ठट्टा, यौवन र युवतीका कुरालाई समेत मिठासपूर्ण ढंगले कथाको रुपमा प्रस्तुत गरिएको वक्ताहरुको भनाइ छ । 

साह्रै सरल र मिठा कथाहरु प्रस्तुत गरिएको टिप्पणीकर्ताको भनाइ थियो । हरेक मानिसको सपना डलर कमाउने, सानो र सुखी परिवारको कल्पना हुन्छ । आर्थिक रुपमा सम्पन्न होस, सामाजिक हैसियत राम्रै होस भन्ने चाहना हुन्छ । त्यस्तै अनेकौ सपना बोकेर हङकङ छिरेका दाजु गुरुङलाई दुई दशक बितेको पत्तै हुँदैन । त्यस्तै कथा धेरैको छ ।

पुस्तकमा कथाकारले ‘टाँकीका फूलहरु’ टिप्दा–टिप्दै समयले फड्को मारेको पत्तै पाएका छैनन् । टाँकी फूल हङकङको राष्ट्रिय फूल हो । त्यसैले हङकङ डलरमा टाँकीको फूलको चित्र छ त्यसैले पुस्तकको नाम नै ‘टाँकीका फूल’ जुरेको हो भनेर प्रष्ट पारेका हुन् । समग्र जीवन खान लाउन र बाँच्नका लागि अनेकौ दुःख कष्ट सहनु पर्ने कुरालाई कथामार्फत आम मानिसमा दर्साएको टिप्पणीकारको भनाइ छ ।

पुस्तकमा आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएका साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, ब्ल्याक र बाटो बिराएको मान्छे गरि पुस्तकमा जम्मा १७ वटा कथाहरु समेटेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया