विश्वकप क्रिकेट : अपराजित यात्रा कायम राख्ने भारतको लक्ष्य

 असार १५, २०७६ आइतबार ८:५९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

जारी विश्वकपको अहिलेसम्मको समीकरण हेर्दा सबैभन्दा दवाबमा रहेको टिम हो, इंग्ल्याण्ड । प्रतियोगिता अघिसम्म उपाधिको प्रमुख दावेदार मानिएको इंग्ल्याण्डले सुरुवात पनि सानदार गरेको हो ।

सुरुवाती ५ मध्ये ४ खेलमा जित हासिल गरेपछि इंग्ल्याण्डले सेमिफाइनलमा पुग्न यति संघर्ष गर्नुपर्ला भनेर सायदैले सोचेका थिए । पछिल्ला २ खेलमा श्रीलंका र अष्ट्रेलियासँग पराजित भएपछि सेमिफाइनल प्रवेशका लागि इंग्ल्याण्डले बाँकी दुवै खेलमा जित अनिवार्य भएको छ ।

त्यो दुई टोली, चानचुने  छैनन् । उपाधिकै दावेदार हुन्– भारत र न्यूजिल्याण्ड । यीमध्ये भारतविरुद्धको खेल घरेलु टोलीले बर्मिङघमको एजबास्टोन रंगशालामा आइतबार खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

विराट कोहली नेतृत्वको भारतीय टोली विश्वकपको एकमात्र अपराजित टोली हो । उसले दक्षिण अफ्रिका, अफगानिस्तान, पाकिस्तान, अष्ट्रेलिया र वेष्ट इण्डिजलाई पराजित गरेको थियो भने न्यूजिल्याण्डविरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियोे । 

बाँकी ३ खेलमा कम्तिमा एउटा जितले मात्र पनि भारतले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । ६ खेलबाट उसको अहिले पनि ११ अंक छ ।

एजबास्टोनमा आइतबार वर्षाको सम्भावना छैन । दिनभर घाम लाग्नेछ र २५ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । २ सय ७० रनको योगफल प्रतिस्पर्धात्मक हुने यस मैदानमा स्पिनरहरुका लागि अनुकुल पीच छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया