सिरहामा ट्रकले भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

 असार १६, २०७६ सोमबार १८:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लहान–११ पड्रिया चोकमा सोमबार अपरान्ह ट्रकले भ्यानलाई ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको भ्यान पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेको अवस्थामा यही दिशाबाट आइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा धनगढीमाई नगरपालिका– ९ मुसहर्नियाका ४५ वर्षीय बुनुमाया तामाङ, गोलबजार नगरपालिका– ८ पुरानो चोहर्वाका ४२ वर्षीय गणपति राम, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी रामको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक मनोज चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेहरुको लहानमा रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नर्सिङ होमहरुमा उपचार भैरहेको छ । गम्भीर अवस्थाका ६ जना घाइतेलाई थप उपचारको लागि धरान  पठाएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि लहानस्थित राउस्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया