भारतलाई फेरि अर्काे झड्का, अलराउण्डर विजय शंकर विश्वकपबाट बाहिरिए

 असार १६, २०७६ सोमबार १८:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अलराउण्डर विजय शंकर घाइते भएपछि भारतीय टिमलाई फेरि अर्काे झड्का लागेको छ । उनको स्थानमा मयंक अग्रवाल टिममा पर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यस अघि पनि ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएर विश्वकपबाट नै बाहिरिएका थिए । उनको ठाउँमा ऋषभ पन्तले टिममा स्थान बनाएर इंग्ल्याण्डविरुद्धको खेलमा ब्याटिङ पनि गरे । 

२८ वर्षीय शंकरको खुट्टाको बूढीऔंँलामा चोट लागेको छ । शंकरको खुट्टाको औंँलामा लागेको चोट निको हुन कम्तीमा तीन हप्ता लाग्ने भएकोले उनी विश्वकपबाट बाहिरिएको बीसीसीआईले जनाएको छ ।

गएको जुन २० मा अभ्यासका क्रममा जसप्रित बुमराहको योर्कर बलले शंकरको खुट्टामा लागेको थियो ।

त्यसबेला सामान्य चोट ठहर गर्दै शंकरले जुन २२ मा अफगानिस्तान र जुन २७ मा वेष्ट इण्जिडविरुद्ध खेलेका थिए । तर इंगल्याण्डविरुद्ध खेल्नु दुई दिनअघि उनको चोट बल्झेको हो । उनले गएकाे जुन १६ मा पाकिस्तानविरुद्ध खेल्दै विश्वकपमा डेब्यू गरेका थिए ।

भारतले जारी विश्वकपमा लिग चरणमा अझै दुई खेल खेल्न बाँकी छ । भारतले मंगलबार बंगलादेश र आगामी शनिबार श्रीलंकासँग खेल्नेछ । भारत अहिले ११ अंकसहित दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया