जितविहीन हुँदै विश्वकपबाट बाहिरियो अफगानिस्तान, अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित

 असार २०, २०७६ शुक्रबार ६:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित भएपछि अफगानी टोली इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन हुँदै घर फर्किएको छ ।

१० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणमा ९ खेल खेल्दा अफगानिस्तानले एउटा पनि जित निकाल्न सकेन ।

वेष्ट इण्डिजविरुद्ध ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पारीको अन्तिम बलमा अलआउट हुनुअघि २८८ रनमात्र जोड्न सक्यो ।

सुरुवात राम्रो गर्न नसके पनि उसका मध्य क्रमका इक्रम अलिखिल र रहमत साहले अर्धशतकीय पारी खेलेपछि सहज अवस्थामा पुगिसकेको थियो ।

कप्तान गुल्बादिन नइव ५ रनको स्कोरमा आउट भए पनि रहमत र इक्रमले दोस्रो विकेटका लागि १३३ रनको शतकीय साझेदारी गरेका थिए । रहमत ७८ बलमा १० चौकासहित ६२ रन बनाएर आउट भए ।

त्यसपछि आएका नाजीबुल्लाह जदरानसँग मिलेर इक्रमले थप ५१ रनको साझेदारी गरे । ३५औं ओभरसम्म अफगानिस्तान १८९–२ को स्थितिमा थियो ।

९३ बलमा ८ चौकासहित ९६ रन बनाएर खेलिरहेका इक्रम क्रिश गेलको बलमा एलबीडब्ल्यूको धरापमा परेपछि वेष्ट इण्डिजले तेस्रो विकेट गुमायो ।

त्यसपछि कसैले पनि लामो साझेदारी गर्न सकेनन् । नाजिवुल्लाह ३१ रनको स्कोरमा रनआउट भए । पूर्व कप्तान अस्घर अफ्गानले ३२ बलमा ४ चौका र १ छक्कासहित ४० रन जोडे पनि पर्याप्त भएन ।

अन्तिमक्रमका सायद सिरजादले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ कार्लोस ब्राथवेइटले ९ ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । केमर रोचले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए ।

यसअघि लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको थियाे ।

ओपनर क्रिश गेल पुनः एकपल्ट सस्तैमा आउट भए पनि मध्यक्रमले राम्रो प्रदर्शन गर्दा वेष्ट इण्डिजले सम्मानित योगफल बनाएको हो । गेलले १८ बलमा ७ रन बनाएर द्वालात जदरानको बलमा आउट भएका थिए ।

तर दोस्रो विकेटका लागि इनि लेविस र साइ होपले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । लेविस ५८ रन प्रहार गरी आउट हुँदा क्यारेवियन टोली १०९–२ को अवस्थामा थियो ।

तेस्रो विकेटका लागि होपले सिमरन हेटमायरसँग मिलेर तेस्रो विकेटका लागि ६५ रनको थप साझेदारी गरे । हेटमायर ३९ रन बनाएर आउट भए । वेष्ट इण्डिजले थप १९ रन जोड्दा ३७.४ ओभरमा होप ७७ रन बनाएर आउट भए । उनले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

पाँचौं विकेटका लागि निकोलास पुरन र कप्तान जेसन होल्डरले पनि शतकीय साझेदारी गरी वेष्ट इण्डिज विशाल योगफलतर्फ अघि बढेको हो । इनिङ्सको अन्तिम ओभरको पहिलो बलमा पुरन ५८ रनको स्कोरमा रनआउटको शिकार बने । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा सायद सिरजादले कप्तान होल्डरलाई पनि आउट गरे । ३४ बलमा ४ छक्का र १ चौका प्रहार गरी ४५ रन बनाएर होल्डर आउट भएका हुन् । अविजित रहेका कार्लोस ब्रेथवेइटेले अन्तिम ओभरको अन्तिम ३ बलमा १ छक्का र २ चौका प्रहार गरी टिमको स्कोर ३०० माथि पुर्‍याए ।

अफगानिस्तानका लागि द्वालात जदरानले २ विकेट लिए । मोहम्मद नावी, रसिद खान र सायद सिरजादले एक एक विकेट लिए ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया