काठमाण्डौमा इन्डोनेसियाली ‘बाटिक’ मेला

 असार २०, २०७६ शुक्रबार १४:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौकाे अन्नपूर्ण हाेटलमा बिहीबारदेखि इन्डोनेसियाली बाटिक मेला सञ्चालनमा आएको छ ।

मेला इन्डोनेसियाली दूतावास र नेपालमा रहेकाे इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले आयोजना गरेकाे हो । नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभयाे ।

आइएमई ग्रुप र आइएमई ट्राभल सहआयोक रहेको मेलामा इन्डोनेसियाली बुटिकले तयार गरेका पहिरनहरु प्रदर्शनमा राखिएको छ । मेलामा बुटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने छ ।

मेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र भएकाे भन्दै दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको स्पष्ट पार्नुभयो ।

नेपालका लागि इन्डोनेसियालीअवैतनिक महावाणिज्यदूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेष गरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको आकर्षक गन्तव्य बनेको बताउनुभयो ।

शुक्रबारसम्म चल्ने मेलाकाे उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बुटिकबाट निर्मित पहिरनहरुको ‘फेसन शाे’ पनि प्रस्तुत गरिएको थियो ।  

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया