च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
भक्तपुर - सूर्यविनायक नगरपालिका-१०, पलाँसेमा सञ्चालित काठमाण्डौ फन भ्यालीले लाखौँ रुपैयाँको कर छली गरेको पाइएको छ ।
काठमाण्डौ फन भ्याली कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाण्डौ फन भ्यालीको नाममा दर्ता भएर सञ्चालनमा रहेको त्यस कम्पनीले कर छली गर्न विद्यालयहरुलाई भने ‘वाटर वर्ल्ड ट्रेडर्स प्रा.लि.’ को नाममा लाखौ रुपैयाँको बिल काटेर कर छली गरेको पाइएको छ ।
दोहोरो बिल बनाएर व्यापक रुपमा कर छली गरेको पाइएपछि आन्तरिक राजश्व कार्यालय भक्तपुरले काठमाण्डौ फन भ्यालीमा छापा मारेको छ । फन भ्यालीले सयौँ विद्यालयका हजारौँ विद्यार्थीहरुलाई दर्ताबिनाको नक्कली बिल दिएर लाखौँ रुपैयाँ कर छली गरेको उजुरी परेपछि कार्यालयले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले मंगलबार यसबारे जानकारी दिँदै कार्यालयमा उजुरी आएपछि काठमाण्डौ फन भ्यालीको विभिन्न कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरेको बताउनुभयो । छानबिन सकिएपछि वास्तविकता सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।
फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएकाे स्विकार्दै कल छली भने नगरेको दाबी गर्नुभयो । काठमाण्डौ फन भ्यालीले प्रदूषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गासमेत मिचेर दुरुपयोग गरेपछि यसअघि त्यसै नगरपालिकाकाे १० नम्बर वडालेसमेत कारबाहीका लागि पत्राचार गरेको थियो ।
स्थानीयले वडाध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयहरुकाे हस्ताक्षर रहेकाे पत्र बुझाउँदै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूला ठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानव स्वास्थ्यसँग खेलबाड गरेको र रसायनयुक्त पानी फेरि त्यही खोलमा फ्याँक्ने गरेकाले पानीको स्राेतसमेत दूषित पारेको भन्दै कारबाहीको माग गरेका थिए ।