बर्खे झरी सुरु, बाढी पहिरोको जोखिम भएका ठाउँमा सतर्क रहन आग्रह

 असार २५, २०७६ बुधबार ९:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बर्खे झरी सुरु भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार बुधबार बिहान मध्य र पूर्वका धेरै तथा पश्चिमको थोरै ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि पश्चिमको पनि धेरै ठाउँमा पनि पानी पर्ने उहाँको अनुमान छ । 

‘बुधबार दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।’ एकैछिन पानी पर्न रोकिए पनि फेरि वर्षा हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । 

बर्खे झरी सुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको छ । बिहीबार प्रदेश १, २, ३ र गण्डकी प्रदेशका नदीमा बाढी आउने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा यस अघि पहिरो गइरहने ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाका बाढीविज्ञ बिनोद पराजुलीका अनुसार कन्काई, कोशी, कमला, बागमती नदीमा बाढी आउने सम्भावना देखिएको छ । यस्तै, मेची, निन्दा, विरिङ, खाँडो, रातु, गागन, लालबकैया, त्रियुगा, पूर्व राप्ती तथा बुढीखोला, पथरी, सुनसरी खोलामा बाढी आउन सक्ने सम्भावना छ । 

महाशाखाले बाढीको जोखिम रहेका ठाउँका स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गर्दै मोबाइलमा सन्देश पठाउने गरेको छ । त्यस्ता सन्देश मोबाइलमा आए तत्काल सुरक्षित ठाउँमा जान महाशाखाका बाढीविज्ञ पराजुलीले आग्रह गर्नुभयो । उहाँले नदी किनार तथा खोला आसपासमा बसोबास गर्नेहरु सतर्क रहन पनि आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया