सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल
पुस ९, २०८१ मंगलबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गएको एक वर्षमा ४३ ओटा गैँडासहित ७७ ओटा वन्यजन्तु मरेका छन् । गैँडाबाहेक एक वर्षको अवधिमा आठ ओटा बाघ, १४ ओटा चित्तल, ३ ओटा बँदेल र ९ ओटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार विसं २०७५ साउनदेखि विसं २०७६ असार मसान्तसम्मको अवधिमा ४३ ओटा गैँडा मरेका हुन् । एक वर्षमा यति धेरै गैँडा मरेको यो पहिलो घटना हो । सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा शिकारीले एकै वर्षमा ३७ वटा गैँडा मारेका थिए ।
विसं २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ३४ ओटा, मध्यवर्ती क्षेत्रमा ७ ओटा र डिभिजन वन चितवनभित्र २ ओटा गैँडा प्राकृतिक कारणले मरेका छन् । एक वर्षमै यति धेरै गैँडा मर्नु संवेदनशील विषय भएको र यो विषयमा कारणको खोजी र अध्ययन भैरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।
प्राकृतिक कारणले गैँडाको मृत्युदर बढ्दै गएको बताउँदै अधिकृत ढकालले भन्नुभयो, ‘गैँडा एक आपसमा जुधेर, घोलमा फसेर, बाघको आक्रमणमा परेर, ढिस्कोबाट खसेर, बच्चा पाउन नसकेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मरेको हो । प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् ।’
मरेका गैँडामध्ये आधा संख्या गैँडाको कुहिएर हाडखोरमात्र फेला परेको बताउँदै प्रमुख संरक्षण अधिकृत ढकालले मरेकामध्ये २३ ओटा गैँडा के कति कारणले मरेको हो भन्ने पत्ता लाग्न नसकेको जानकारी दिनुभयो । मरेका मध्ये १९ ओटा गैँडाको कुहिएका कारण लिङ्ग पहिचान हुन समेत नसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘निकुञ्जले चालु आर्थिक वर्षमा पटक–पटक गरी निकुञ्जमा ‘स्विप अपरेसन’ गरेका कारण पहिले मरेका धेरै गैँडा पनि यस पटक फेला परेको हुन सक्ने बताउनुभयो । ’
दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीले बगाएको ९ ओटा गैँडा निकुञ्जले भारतबाट ल्याएको प्रमुख ढकालले जानकारी दिनुभयो । बाढीले बगाउँदा अलमलमा परेर वा स्वास्थ्यमा आएको खराबीले पनि गैँडा मरेको अनुमान निकुञ्जले गरेको छ ।
चोरी शिकारीका कारण निकुञ्जमा वन्यजन्तु मर्ने क्रम घट्दै गए पनि प्राकृतिक कारणले मर्नेको संख्यामा भने कमी आएको छैन । निकुञ्जमा वन्यजन्तु संरक्षणमा सफलता मिले पनि घाइते र अशक्त अवस्थामा भेटिएका वन्यजन्तुलाई बचाउन नसक्नु मुख्य चुनौती बन्दै गएको छ ।
जंगली जनावरहरू एकआपसमा जुध्ने र विभिन्न प्रकारले घाइते अवस्थामा भेटिएर उद्धार गरी उपचारको अथक प्रयास गर्दा पनि कमैलाई मात्र बचाउन सकिएको छ ।
निकुञ्ज र सँगै जोडिएका मध्यवर्ती वन क्षेत्रमा पर्ने सडकमा सवारीले ठक्कर दिएर पनि केही जनावर मरेका छन् । साथै विषादी प्रयोग भएका वस्तु खाएका कारण पनि जनावर मर्दै आएका छन् । वन्यजन्तु अस्पताल सञ्चालनमा आएपछि घाइते अवस्थामा भेटिएका जनावरलाई समयमै प्रभावकारी उपचारका लागि अस्पताल लगेर बचाउन सकिने प्रमुख ढकालले बताउनुभयो ।
वन्यजन्तु संरक्षणका लागि निकुञ्ज आसपासका क्षेत्रमा विकासका काम गर्दा वन्यजन्तुको बासस्थानमा असर नपर्ने गरी गरिनुपर्ने उहाँले बताउनुभयो । विकासको काम गर्दा वन्यजन्तुको बासस्थान ख्याल नगरी हाइटेन्सन लाइन राख्ने, वन्यजन्तु अनुकूल बाटो नहुने तथा विषादीकोे प्रयोग पनि वन्यजन्तु मृत्युका कारण भएको ढकालले जानकारी दिनुभयो ।
निकुञ्जमा विसं २०७४ असारदेखि विसं २०७५ साउनसम्मको एक वर्षको अवधिमा प्राकृतिक कारणले २६ ओटा गैँडा मरेका थिए । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ ओटा गैँडा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।