असोजभित्रै विद्युतीय बस सञ्चालन हुने

 साउन ३, २०७६ शुक्रबार ६:५९:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँको शेयर सरकारले खरिद गरेपछि विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो । 

तीन सय बस खरिद गरेर काठमाण्डाै उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताउनुभयो । धेरैले ‘सरकारले निर्णय मात्रै गरेको काम नगरेको’ भनिरहँदा सरकार कार्यान्वयन गर्न लागिपरेको उहाँको भनाइ थियो । मन्त्रालयले बस खरीद र सञ्चालन संस्थामार्फत गर्न लागेको हो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले यसमा समन्वयको काम गर्नेछ ।’

मन्त्रालयले विद्युतीय बसका लागि मापदण्ड बनाएको मन्त्री महासेठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले संस्थालाई मापदण्ड पनि दिइसकेको छ । दुई सरकारबीच सम्झौता (जीटुजी) अनुसार वा खुला प्रतिस्पर्धाअनुसार सार्वजनिक खरिद प्रक्रियाबाट किन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरु कुनै पनि खालको बाधा नआएमा असोजमै बस सञ्चालन सुरु गर्न सकिनेछ ।’

यो पनि पढ्नुहोस् 

मन्त्री महासेठले विकासका काममा केही समय लाग्ने भए पनि कामप्रति शङ्का नगर्न अनुरोध गर्नुभयो । अहिले सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकार विद्युतीय बस सञ्चालनमा इच्छुक भएको उहाँले बताउनुभयो । काठमाण्डाै उपत्यका र बाहिर कस्ता बस सञ्चालन गर्ने भन्ने मापदण्डमा तोकिएको छ । 

बस बालबालिका, ज्येष्ठ नागरिकमैत्री बस हुनुपर्ने तथा उभिने र बस्ने कति ठाउँ हुने भन्ने मापदण्डमा स्पष्ट पारिएको छ । मन्त्रालयले रकमसँगै मापदण्ड पनि साझालाई दिएको उहाँले बताउनुभयो । ‘काठमाण्डाै र उपत्यका बाहिर एकनासको बस नहुन सक्छ’, उहाँले भन्नुभयो । 

वर्तमान सरकार गठन हुनासाथ सार्वजनिक सवारीसाधनमा सुधारको काम थालेको मन्त्री महासेठले बताउनुभयो । विसं २०७४ चैत १८ गते आफूले २५ वर्षदेखि कायम रहेको एकाधिकार अन्त्य गरेसँगै राम्रो बस सञ्चालनको योजना बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एकाधिकारको अन्त्यपछि नै मन्त्रालयलाई वातावरणमैत्री सवारीसाधन सञ्चालनका लागि बाटो खुलेको हो । नेपालीले सूचना प्रविधियुक्त, सजिला र सुविधासम्पन्न बस आउने आशा गरेको र सरकारले त्यसैअनुसार योजना बनाएको उहाँले बताउनुभयो । 

अहिले देशभरमा रहेका यातायात व्यवसायीले कम्पनी दर्ता गरेर सवारी साधन पञ्जीकरण गरिरहेको मन्त्री महासेठले बताउनुभयो । देशभरमा १३७ कम्पनीमार्फत अढाइ लाख सवारीसाधन दर्ता भएका छन् । सरकारले यातायात क्षेत्रको सुधारकै लागि यातायात प्राधिकरण गठन गर्ने तयारी गरेको जानकारी उहाँले दिनुभयो । मन्त्रालयले सो विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । उहाँले भन्नुभयो, ‘विधेयक पास भएर प्राधिकरण दर्ता भएपछि नै यस क्षेत्रमा धेरै सुधार हुनेछ ।’

सरकारले पहिलो वर्ष विभिन्न कानून बनाउनेमा नै ध्यान केन्द्रित गरेको बताउँदै त्यति हुँदाहुँदै पनि मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा बढी सडक कालोपत्र र धेरै सङ्ख्यामा सडक पुल निर्माण सम्पन्न गरेको उहाँको भनाइ थियो । सरकारले असोजभित्रै जयनगर–बर्दिवास रेल सञ्चालन गर्ने जिकिर उहाँले गर्नुुभयो । सरकारले रेल ऐनसमेत अघि बढाएको मन्त्री महासेठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले संस्थाले पारदर्शी भएर मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार साझा यातायात सरकारको ९९ प्रतिशभन्दा बढी शेयर भएको संस्था हो । सरकारको लगानी भएको संस्थाले नाफा मात्रै हेर्नेभन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिने उहाँको भनाइ थियो । 

साझाले नेपालमा यातायात क्षेत्रमा नयाँ शुरुआत गरेको र सबै वर्गलाई समेट्ने कुरामा ध्यान दिएको उहाँले बताउनुभयो । संस्थाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउने तथा विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई १० रुपैयाँ मात्रै भाडा लिने गरेको छ । उहाँले भन्नुभयो, ‘अहिले अरु धेरै कम्पनीले पनि संस्थाकै जस्तो ठूला बस सञ्चालन सुरु गरेका छन्, यसले गर्दा यात्रुलाई सुविधा भएको छ ।’

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले हरित ऊर्जाको प्रयोगबाट जनस्वास्थ्य तथा वातावरण क्षेत्र संरक्षणमा सकारात्मक प्रभाव पर्ने भएकाले विद्युतीय बस खरीद गर्न लागिएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया