वर्षाले कर्णाली राजमार्गकाे दैलेख सडक खण्ड भत्केपछि यात्रु अलपत्र

 साउन ८, २०७६ बुधबार १५:२१:२० | अमर सुनार
unn.prixa.net

दैलेख – सुर्खेतबाट कालिकोट–जुम्ला जाने कर्णाली राजमार्गको दैलेख सडकखण्ड पहिरोले भत्केपछि यात्रुहरु अलपत्र परेका छन् । 

मंगलबार रातिको भीषण वर्षाका कारण आएकाे पहिराेले ठाउँ–ठाउँमा सडक पुरिएपछि र सडक खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।  गुराँस गाउँपालिका–४ रतिखोलाको निर्माणाधीन पुलका लागि खनिएको खाल्डोको कारण झण्डै २५ मिटर सडक भत्किएर खोलाको बगर बनेको छ ।

तल्लो डुंगेश्वरदेखि झण्डै २ किलोमिटर सियाकोटतर्फ बान्द्रे भन्ने ठाउँको सडक पनि भत्किएर खसेको छ । त्यस्तै तल्लो डुंगेश्वरदेखि पाली हुँदै पाल्तडासम्मको क्षेत्रमा पनि पहिरोले सडक पुरिएको कारण यातायात सेवा अवरुद्ध भएको छ । 

'कर्णाली राजमार्गको सुर्खेत–बड्डीचौर हुँदै तल्लो डुंगेश्वरसम्मको क्षेत्रमा कम बस्ती, साँघुरो सडक र दूरीका हिसाबले २८ किलोमिटर लामो पर्ने भएकोले पनि सुर्खेतबाट दैलेखको गुराँसे हुँदै सियाकोट जाने बाटोमा यात्रुवाहक बस, जीप, मालवाहक ट्रकहरु थुप्रिएका छन्', दैलेखका पत्रकार मदन बिकले जानकारी दिनुभयो ।

त्यस्तै जुम्ला–कालिकोटबाट सुर्खेत जान हिँडेका यात्रुवाहक बस, जीप, मालवाहक ट्रक, र राराबाट फर्किएका पर्यटकसहित यात्रुहरु दैलेखको पाल्तडामा रोकिएका छन् । दैलेखको पूर्व–पश्चिम जोडिएको मध्यपहाडी राजमार्गको ग्राभेल पूर्ण नुहँदा विकल्प प्रयोग गर्न नसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बास्कोटाले सियाकोट–तल्लो डुंगेश्वर, पाल्तडा हुँदै कालिकोट र जुम्लासम्म सडक खुलाउन विभागको एउटा डोजरसहित सियाकोट र पाल्तडातर्फबाट काम थालिएको जानकारी दिनुभयो । तर डुंगेश्वर गाउँपालिका–६ का वडाअध्यक्ष बमबहादुर बीसीले सडक खुलाउनु कम्तीमा तीन दिन लाग्ने बताउनु भयो । 

रतिखोलामा सडक भत्किएपछि सुर्खेतबाट सियाकोट–तल्लो डुंगेश्वरहुँदै दुल्लू र चामुण्डा जाने सवारी साधनहरु पनि दैलेख सदरमुकामको मध्यपहाडी राजमार्गलाई विकल्पको रुपमा प्रयोग गरेका छन् । 

चामुण्डाबाट सात्तला–सिंगौडी खण्डको झण्डै ३० किलोमीटरको मध्यपहाडी राजमार्गको सडक ग्राभेल नहुँदा सियाकोट–तल्लो डुंगेश्वर, पाल्तडा हुँदै कालिकोट र जुम्ला जाने दैनिक तीन सय बढी सवारी साधनहरु चल्ने बाटो विकल्पविहीन भएको हो । रतिखोलामा सडक खस्दा अछामको विनायक, रामारोशन र मंगलसेन पुग्ने दैनिक २५ वटा सवारी साधन पनि यही बाटो भएर चल्ने गर्दछन् । 

रतिखोलाको सिंगल स्ल्याब पुल निर्माणका लागि पिलर खडा गर्ने कामका लागि झण्डै ६ महिना अघि खनेर यत्तिकै छोडेपछि अहिले क्षति भएको हो । पुल निर्माण गर्ने म्याद गएको चैतमा सकिएपछि सूर्य कन्स्ट्रक्सन प्रा.लि.लाई सडक विभाग सुर्खेतले फेरि ६ महिनाको म्यान थपेको छ । 

पुलका लागि खनिएको खाल्डोले सडक खसेपछि सडक खुलाउन सम्बन्धित कम्पनीलाई भनिएको र पहिरो खसेको ठाउँमा सडक खुलाउन जनशक्ति परिचालन गरिएको सडक विभागका प्रमुख इञ्जिनियर गुरुप्रसाद शर्माले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया