सुनसरीको दुहबीका १५ घर बाढीले बगायो

 साउन १०, २०७६ शुक्रबार १३:५९:२८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सुनसरीको दुहबीका १५ घर बाढीले कटान गरेर बगाएको छ । बुढीखोला र टेङ्ग्रा खोलामा आएको बाढीका कारण दुहबी नगरपालिका –४ मालहट्टीमा १० घर र वडा नम्बर १ को मुसहर बस्तीका ५ घर बगाएको हो ।

वर्षाका कारण बुढीखोलामा आएको बाढीले दुहबी–४ का १० घर कटानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो। बाढीका कारण ३० ओटा घर उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

बुढीखोला र टेङग्रा खोलाको संगम स्थलमा रहेको घरहरु बाढीले बगाउन थालेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिनुभयो ।  

विस्थापित परिवारलाई इलाका प्रहरी कार्यालयको सहयोगमा दुहबी–४ मा रहेको वीपी आधारभुत विद्यालय र मदरसा इस्लाहुलमा राखिएको दुहबी–४ का वडाध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो ।

वडाध्यक्ष बस्नेतले बुढीखोला र टेङग्रा खोलामा तीव्ररुपमा कटान भइरहेकोले सतर्कता अपनाउन आग्रह गर्नुभयो । त्यस्तै, दुहबी नगरपालिका– १ को मुसहर बस्तीका ५ घर पनि खोलाले बगाएको प्रहरी निरीक्षक माझीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया