रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएँ, उहाँका अपुरा काम पूरा गर्नेछु : पर्यटन मन्त्री भट्टराई

 साउन १५, २०७६ बुधबार १७:४२:१३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको छ ।

बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग लिएसँगै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो ।’ उहाँले सबैले मिलेर काम गरेमा अघि बढ्ने सकिने बताउनुभयो । 

त्यस्तै उहाँले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो । 

लामो समय सुखदुःखमा अधिकारीसँगै रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले भन्नुभयो, ‘घनिष्ट मित्र गुमायाैँ । म सम्झन चाहन्छु । लामो समय बिताइयो, सुख दुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ ।’

त्यस्तै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीकै रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसो भन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’

त्यस्तै उहाँले रवीन्द्र अधिकारीले अगाडि सारेका कामहरु पूरा गर्ने बताउनुभयो । ‘म यहाँ एउटा परिस्थितिले आकस्मिक रुपमा आएँ, रवीन्द्र अधिकारीका अपुरा काम पूरा गर्नेछु ।’

नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा विभागीय मन्त्री नहुँदा कामकारबाहीमा समस्या उत्पन्न हुँदै आएको थियो ।  रिक्त रहेको सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त गर्न पार्टी भित्रैबाट दबाब थियो । प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्री बनाउने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग छलफल नै गर्नुभएको थियो ।

नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले ‘योगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयो’ भन्ने अभिव्यक्ति नै दिनुभएको थियो ।

भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएको थियो ।

सम्बन्धित समाचार

पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया